प्रहार समाचार । काठमाडौं, १९ असोज २०८३ सोमबार । लोकतन्त्र खतरामा छ कि छैन भन्ने बहस भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ–२ का सांसद एवं ऊर्जा तथा जलस्रोत विभाग प्रमुख श्रीराम न्यौपानेले मुलुकको अर्थतन्त्र भने खतरामा रहेको औँल्याएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपालको विकास मोडल अझै स्पष्ट हुन नसकेको भन्दै “भाषण र सत्ताको खेलले होइन, स्पष्ट गुरुयोजनाले मात्र समृद्धि सम्भव छ” भन्ने धारणा सार्वजनिक गरेका हुन् । न्यौपाने ऊर्जा तथा जलस्रोत क्षेत्रमा लामो प्राविधिक अनुभव भएका सांसद हुन् । न्यौपानेले हरित ऊर्जाको उत्पादनसँगै त्यसको स्वदेशी खपत बढाउने, पानी र युवा शक्तिलाई विदेश निर्यात गर्ने अवस्थाबाट माथि उठाएर देशभित्रै सदुपयोग गर्ने विकास नीति आवश्यक रहेको बताएका छन् । उनका अनुसार नेपालको समृद्धिको आधार आफ्नै प्राकृतिक स्रोत, ऊर्जा, पानी र जनशक्तिको उत्पादनमुखी उपयोग हुनुपर्ने हो । तर पटक–पटक नीतिगत बहसमा यस्ता विषय उठे पनि स्पष्ट दीर्घकालीन गुरुयोजना र त्यसको कार्यान्वयनमा प्रश्न कायमै रहेको उनको संकेत छ ।
रोचक पक्ष के छ भने, यस्ता नीति र विकासका प्रश्न उठाउने न्यौपानेकै पार्टी रास्वपाबाट अर्थमन्त्री जस्तो जिम्मेवार मन्त्रालयमा डा. स्वर्णिम वाग्ले सरकारमा छन् । वाग्ले अर्थशास्त्री तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत हुन् र हाल अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका छन् । यस्तो अवस्थामा पार्टीभित्रैबाट उठेको “अर्थतन्त्र खतरामा छ, विकासको मोडल खोइ ?” भन्ने प्रश्नलाई सरकारको आर्थिक नीति र प्राथमिकतामाथिको आन्तरिक बहसका रूपमा हेरिएको छ । अब न्यौपानेले उठाएको ऊर्जा, पानी, युवा र उत्पादनमुखी अर्थतन्त्रको सवालमा सरकार र अर्थ मन्त्रालयले व्यवहारमै कस्तो दिशा लिन्छ भन्ने चासोको विषय बनेको छ ।






















