प्रहार समाचार । काठमाडौं, १९ असोज २०८३ सोमबार । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको पदाधिकारी संरचना थप फराकिलो बनाउँदै एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरेको छ।

बन्दसत्रबाट संशोधित विधान पारित भएसँगै कांग्रेसको नेतृत्व संरचनामा पदको संख्या उल्लेख्य रूपमा बढेको हो। नयाँ व्यवस्थाअनुसार उपसभापतिमध्ये कम्तीमा एक महिला र महामन्त्रीमध्ये एक महिला अनिवार्य गरिएको छ। नयाँ विधानले कांग्रेसमा पद थपेर प्रतिनिधित्व र समावेशिता विस्तार गर्ने बाटो खोलेको छ। तीन महामन्त्रीमध्ये एक महिला अनिवार्य हुनेछन् भने १५ सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना मनोनीत हुने व्यवस्था गरिएको छ। यससँगै पार्टीको केन्द्रीय कार्यसमिति पनि २९७ सदस्यीय बनाइएको छ।
पदाधिकारीको संख्या बढाउने निर्णयले कांग्रेसभित्र प्रतिनिधित्व विस्तारको नाममा नेतृत्व व्यवस्थापन र भागबन्डाको राजनीति झनै संस्थागत हुने हो कि संगठन बलियो बन्ने हो भन्ने बहससमेत चर्काएको छ। नेतृत्व परिवर्तन र पार्टी पुनर्संरचनाको नारा अघि सारिएको महाधिवेशनमै पद थपिँदै जानुले कांग्रेसको आगामी यात्रा विचार र संगठनको भन्दा पदको व्यवस्थापनतर्फ बढी केन्द्रित त हुने होइन भन्ने प्रश्न उठेको छ।






















