प्रहार समाचार । लमजुङ, १९ असोज २०८३ सोमबार । लमजुडको मध्यनेपाल नगरपालिकाले नगर क्षेत्रभित्र रासायनिक विषादीको जथाभावी, असन्तुलित तथा अनधिकृत ओसारपसार, ढुवानी, बिक्रीवितरण र प्रयोग नगर्न कडा चेतावनी दिएको छ।

नगरपालिकाको कृषि शाखाले सूचना जारी गर्दै नेपाल सरकारबाट प्रतिबन्धित, सूचीकृत तथा दर्ता नभएका विषादीको प्रयोगले मानव स्वास्थ्यसँगै खाद्य तथा पोषण सुरक्षा, पशुपन्छी, मौरी, माटो, लाभदायक जीव तथा वातावरणमा गम्भीर र दीर्घकालीन असर पार्ने भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको हो।नगरपालिकाका अनुसार अनुमति नलिई विषादीको कारोबार तथा प्रयोग गर्ने व्यक्ति, फर्म, संस्था र व्यवसायी मात्र होइन, अनुमति प्राप्त पक्षले समेत असुरक्षित र असन्तुलित ढंगले विषादी प्रयोग गरेको पाइए कानुनी कारबाही हुनेछ। जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६, नियमावली २०८१ तथा गण्डकी प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन, २०८१ लगायत प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

विषादीको गलत प्रयोगबाट अन्य व्यक्ति वा पक्षलाई क्षति पुगेमा त्यसको क्षतिपूर्ति समेत सम्बन्धित पक्षले व्यहोर्नुपर्ने चेतावनी दिइएको छ।मध्यनेपाल नगरपालिकाले कृषकलाई रासायनिक विषादीमा निर्भरता घटाउँदै जैविक, वनस्पतिक तथा घरेलु व्यवस्थापन विधि अपनाउन आग्रह गरेको छ। बालीमा देखिने रोग, किरा, झारपात तथा अन्य शत्रुजीव नियन्त्रणका लागि सुरक्षित र वातावरणमैत्री उपाय अवलम्बन गर्न नगरपालिकाले अनुरोध गरेको हो। नगर प्रमुख रमेश कुमार पाण्डेद्वारा जारी सूचनामार्फत सबै वडा कार्यालयलाई समेत सूचना प्रचारप्रसारसँगै आवश्यक अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिइएको छ।






















