प्रहार समाचार । तनहुँ, १९ असोज २०८३ सोमबार । डेंगु संक्रमणको जोखिम बढ्न नदिन तनहुँको व्यास नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाले लामखुट्टेको बासस्थान खोज्दै सरसफाइ अभियान सञ्चालन गरेका छन्।

स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीयको सहभागितामा घर, टोल र सार्वजनिक स्थलमा डेंगु सार्ने एडिस जातको लामखुट्टेको सम्भावित प्रजननस्थल खोजी गरी नष्ट गरिएको हो।अभियानका क्रममा पानी जम्ने भाँडा, पुराना टायर, गमला, बोतल, प्लास्टिकका सामग्रीलगायत स्थानको निरीक्षण गरी जमेको पानी हटाउने र सरसफाइ गरिएको छ।
साथै स्थानीयवासीलाई डेंगुको संक्रमण, लक्षण, बच्ने उपाय तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्नेबारे अभिमुखीकरण गर्दै ‘पानी जम्न नदिऔँ, डेंगुबाट बचौँ’ भन्ने सन्देश दिइएको छ।व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखाले डेंगु नियन्त्रण स्वास्थ्य संस्थाको प्रयासले मात्र सम्भव नहुने भन्दै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ। घर तथा वरपर पानी जम्न नदिने, पानीका भाँडा ढाकेर राख्ने र नियमित सरसफाइ गर्ने अभियानलाई स्वास्थ्य संस्थामार्फत निरन्तरता दिइने शाखाले जनाएको छ।






















