हेडलाईनसमाचारबागमती

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरू : खुलामञ्चबाट कांग्रेसको ‘परिवर्तन’को उद्घोष, शीर्ष नेताले दिए आफ्नै–आफ्नै सन्देश

प्रहार समाचार । काठमाडौं, १८ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको छ।

पार्टी सभापति गगनकुमार थापाले गमलामा रहेको बिरुवामा जल सिञ्चन गर्दै महाधिवेशन उद्घाटन गरे। थापाले लोकतन्त्रलाई कमजोर हुन नदिने र संसददेखि राजनीतिक दल तथा समाजसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला मञ्च आवश्यक रहेको बताए।

उनले कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्मान गर्दै आजका प्रश्नको उत्तर दिन सक्ने गरी आफूलाई रूपान्तरण गर्नुपर्ने सन्देश दिएका छन्।

उद्घाटन समारोहमा सहभागी दलका शीर्ष नेताहरूले पनि कांग्रेसलाई आ–आफ्नो राजनीतिक दृष्टिकोणबाट सन्देश दिए। रास्वपा सभापति रवि लामिछानेले कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले पुर्‍याएको योगदानको सम्मान गर्नुपर्ने र त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।

नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गगन थापा र रवि लामिछानेलाई आफूले विगतमा गर्दै आएको ‘क्रमभंगता’ अब नयाँ पुस्ताले अघि बढाउनुपर्ने धारणा राखे।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बदलिँदो समयसँगै दलहरू पनि रूपान्तरण हुनुपर्ने, पुरानै शैलीमा राजनीति चल्न नसक्ने भन्दै नयाँ पुस्तामाथि विश्वास गर्नुपर्ने बताए। एमाले महासचिव शंकर पोखरेलले देश भूराजनीतिक द्वन्द्वको चपेटामा परेको उल्लेख गर्दै राष्ट्रियताको प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानलाई समयअनुकूल संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप समावेशी र प्रभावकारी बनाउनुपर्ने तथा राष्ट्रिय हितमा सन्तुलित कूटनीति आवश्यक रहेको बताए।

महाधिवेशनमा देशभरका कांग्रेस नेता–कार्यकर्तासँगै विदेशबाट आएका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ। खुलामञ्चमा देखिएको दलीय जमघटले कांग्रेसको महाधिवेशनलाई केवल आन्तरिक नेतृत्व चयनको अभ्यासमा सीमित नराखी बदलिँदो राष्ट्रिय राजनीतिमाथि बहस गर्ने थलोका रूपमा पनि प्रस्तुत गरेको छ। महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button