प्रहार समाचार । काठमाडौं, १८ असोज २०८३ आइतबार । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा आफूलाई लक्षित गर्दै गरिएको आलोचनाप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा सुरु भएकै दिन प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै स्टाटस लेखेका हुन् । कांग्रेस सभापति गगनकुमार थापाले उद्घाटन समारोहमा प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाउँदै ‘संसद् खुला छैन, संसद्भित्र पनि खुलामञ्च चाहिएको’ धारणा राखेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।

प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले राजधानीको खुलामञ्चलाई लिएर कांग्रेस र सरकारबीच देखिएको राजनीतिक वाक्ययुद्धलाई थप सतहमा ल्याएको छ । लामो समयपछि राजनीतिक कार्यक्रमका लागि खुलामञ्च पुनः प्रयोगमा आएको दिन कांग्रेसले त्यही मञ्चबाट सरकारको कार्यशैली र संसद्को भूमिकामाथि प्रश्न उठाएको थियो भने प्रधानमन्त्रीले आफूले सुधार गरेको भनिएको खुलामञ्चमै उभिएर आलोचना गर्ने अवसर कांग्रेसलाई मिलेको भन्दै कटाक्ष गरेका छन् । करिब एक दशकपछि खुलामञ्चमा ठूलो राजनीतिक कार्यक्रम फर्किएको हो, जसलाई कांग्रेस सभापति थापाले फरक मत र विचारलाई एउटै सार्वजनिक मञ्चमा राख्ने लोकतान्त्रिक थलोका रूपमा व्याख्या गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ भने महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशाबारे निर्णय गर्नेछ । यही राजनीतिक मञ्चबाट उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट व्यङ्ग्यमा फर्काएपछि खुलामञ्चको पुनरागमनसँगै नेपाली राजनीतिमा ‘मञ्च एउटै, मत फरक’ भन्ने नयाँ बहससमेत सुरु भएको छ ।






















