दमौली, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गृहजिल्ला तनहुँबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका कांग्रेसका पुराना नेता रामचन्द्र पोखरेल पराजयलगत्तै पार्टी सभापति गगन थापाको निवास पुगेका छन् ।

महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित भएको केही समयमै थापा निवास पुगेर भेटवार्ता गर्नु र सभापति थापासँगको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले कांग्रेसभित्र नयाँ राजनीतिक सन्देशको संकेत गरेको छ ।
भेटको तस्वीर सार्वजनिक गर्दै पोखरेलले लेखेका छन्, “आज सभापति श्री गगन थापा ज्युको निवासमा भएको शुभ बिहानी भेटको एक झलक ! बिचमा बागमती प्रदेश सभा मा. हरि प्रभा खड्गी साथै शंकर कार्की (सोलोखुम्बु), राम चन्द्र पोखरेल र राजेन्द्र पराजुली ।” पोखरेलले भेटलाई ‘शुभ बिहानी भेट’ का रूपमा उल्लेख गरे पनि भेटको विषयवस्तु भने खुलाएका छैनन् । तनहुँबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएको परिणाम सार्वजनिक भएलगत्तै पार्टी सभापतिसँग भएको यो भेटलाई कांग्रेसभित्र भने अर्थपूर्ण रूपमा हेरिएको छ ।

पोखरेलको थापा निवास यात्रालाई सामान्य भेटघाटभन्दा पनि पछिल्लो महाधिवेशन परिणामसँग जोडेर हेर्न थालिएको छ । लामो समय पार्टी राजनीतिमा सक्रिय रहेका तथा संविधानसभा सदस्यसमेत भइसकेका पोखरेल यसपटक महाधिवेशन प्रतिनिधिमै रोकिएका हुन् । तनहुँमा पुराना राजनीतिक अनुहारहरू नै प्रतिनिधि छनोटमा पराजित भएको परिणाम सार्वजनिक भइरहेका बेला पोखरेलको तत्कालै पार्टी सभापतिसँगको भेटले जिल्लादेखि केन्द्रसम्मको आगामी राजनीतिक समीकरणबारे चासो बढाएको छ ।
तर, पोखरेल र थापाबीच भेटमा के विषयमा छलफल भयो भन्ने कुरा सार्वजनिक भएको छैन । पराजयको परिणाम आएलगत्तै सभापतिको निवासमा पुग्नु र तस्वीर सार्वजनिक गर्नुले भने कांग्रेसभित्रको बदलिँदो शक्ति समीकरण, आगामी जिम्मेवारी तथा राजनीतिक रणनीतिबारे अनेक अड्कलबाजीलाई थप बल दिएको छ । भेटको वास्तविक उद्देश्य र सन्देश भने पोखरेल वा सभापति थापाको औपचारिक धारणा सार्वजनिक भएपछि मात्रै स्पष्ट हुने देखिन्छ ।






















