हेडलाईनसमाचारबागमती

रास्वपाको स्थानीय निर्वाचनमा ‘उम्मेदवार छान्ने’ जिम्मा ८ सदस्यीय समितिलाई, विभागमा पनि नयाँ अनुहार

प्रहार समाचार । काठमाडौं, १७ असोज २०८३ शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको जिम्मेवारी केन्द्रीय तहमा केन्द्रित गर्दै उम्मेदवार छनोट समिति गठन गरेको छ ।

सभापति रवि लामिछानेको सभापतित्वमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामीलाई सदस्य मनोनयन गरेको छ। समितिमा पार्टीका सातै प्रदेश सभापति पदेन सदस्य रहने निर्णयसमेत गरिएको छ। रास्वपाले स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीका विभिन्न केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख तथा सदस्यसमेत मनोनयन गरेको छ।

प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापनमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालनमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशितामा रुबिना आचार्य, सुशासन तथा राज्य व्यवस्थामा सुदिप ढकाल, विधायन तथा संसदीय मामिलामा सुलभ खरेल र कृषि, भूमि व्यवस्था तथा सहकारीमा ज्ञानेन्द्र महतालाई जिम्मेवारी दिइएको छ। त्यस्तै श्रम, रोजगारी तथा सामाजिक सुरक्षामा दिपक कुमार साह, आपूर्ति तथा उपभोक्ता अधिकारमा शर्मिला खनाल, विज्ञान तथा सूचना प्रविधिमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदामा डा. धनञ्जय रेग्मी, वातावरण तथा प्राकृतिक स्रोतमा धर्म के.सी. र सामाजिक न्याय तथा समता प्रवर्द्धनमा रिमा विश्वकर्मालाई विभागीय जिम्मेवारी दिइएको छ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै रास्वपाले संगठन विस्तारसँगै उम्मेदवार छनोट र विभागीय संरचनालाई समेत सक्रिय बनाउने संकेत गरेको छ। उम्मेदवार छनोट समितिमा सातै प्रदेशका सभापतिलाई पदेन सदस्य राखिनु तथा विभिन्न विषयगत विभागमा जिम्मेवारी बाँडिनुले पार्टीले निर्वाचनकेन्द्रित सांगठनिक तयारी अघि बढाएको देखिन्छ। बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाले आगामी निर्वाचनमा पार्टीको संगठन, उम्मेदवार छनोट र विभागीय संयन्त्रलाई थप व्यवस्थित बनाउने दिशामा कदम चालेको जनाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button