प्रहार समाचार । तनहुँ, १७ असोज २०८३ शनिबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति तनहुँले १९ गतेभित्र क्षेत्रीय प्रतिनिधि चयन गरिसक्ने गरी संगठनात्मक गतिविधि तीव्र बनाएको छ।

तयारी समितिका संयोजक प्राडा कृष्णप्रसाद गौतमका अनुसार क्षेत्रीय प्रतिनिधि चयनका लागि वडा–वडामा प्रतिनिधि खटाउने काम सम्पन्न भइसकेको छ। क्षेत्रीय प्रतिनिधि चयनसँगै महाधिवेशनका अन्य प्रक्रियासमेत अघि बढाइने उनले बताए। तयारी समितिका सह–संयोजक डम्बर अधिकारीका अनुसार समितिमा नेता तथा कार्यकर्ता जोडिने क्रम जारी छ। शनिबार मात्रै व्यास नगरपालिका–११ का प्रेमबहादुर अधिकारी क्षेत्री र व्यास–२ का विष्णुकुमार मल्ल तयारी समितिमा जोडिएका छन्। समितिले वडा तहदेखि नै संगठनात्मक गतिविधिलाई सक्रिय बनाउँदै महाधिवेशनको तयारीलाई थप व्यवस्थित बनाउने जनाएको छ।
तयारी समितिका सचिव माधव खनालले वडा तहदेखि जिल्ला अधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया प्रभावकारी रूपमा सम्पन्न गर्न समिति तीव्र गतिमा अघि बढिरहेको बताए। उनका अनुसार तयारीमा पार्टीका नेता तथा कार्यकर्तालाई समेत जोड्दै संगठनात्मक गतिविधिलाई व्यापक बनाइनेछ। क्षेत्रीय प्रतिनिधि चयनको समयसीमा नजिकिँदै गर्दा तनहुँ कांग्रेसमा महाधिवेशन तयारीले गति लिन थालेको छ।






















