प्रहार समाचार । गोरखा, १७ असोज २०८३ शनिबार । गोरखाको पालुङटार नगरपालिकाले ऐतिहासिक तथा पहिचानसँग जोडिएको १२औँ लिगलिग दौड प्रतियोगिता–२०८३ आगामी असोज २९ गते आयोजना गर्ने भएको छ।

प्रतियोगितामा प्रथम हुने धावकले १ लाख १२ हजार ११२, द्वितीयले ८७ हजार ११२, तृतीयले ६२ हजार १ सय १२ तथा सान्त्वना स्थान प्राप्त गर्ने धावकले ४२ हजार १ सय १२ पुरस्कार प्राप्त गर्नेछन्। दौड चेपे र मर्याङ्दी नदीको दोभान (चेपेघाट) देखि ऐतिहासिक लिगलिगकोट दरबारसम्म हुनेछ र बिहान ५ः४५ बजे सुरु हुने आयोजकले जनाएको छ। नगर प्रमुख विवश चिन्तनले लिगलिग दौड पालुङटारको ऐतिहासिक, सांस्कृतिक तथा पहिचानसँग जोडिएको महत्वपूर्ण प्रतियोगिता भएकाले यसको निरन्तरता र गरिमालाई थप उचाइमा पुर्याउने गरी तयारी अघि बढाइएको बताए। उनका अनुसार प्रतियोगिताले खेलकुदको विकाससँगै लिगलिगकोटको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन र पालुङटारमा पर्यटन प्रवर्द्धन गर्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी तथा व्यवस्थापनका काम अघि बढाइएको बताए। पालुङटार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, ठाँटीपोखरी, गोरखाको आयोजनामा हुने प्रतियोगितामा धावक, खेलप्रेमी तथा सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ। ऐतिहासिक लिगलिगकोटको पहिचानसँग जोडिएको प्रतियोगितालाई यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी नगरपालिकाले गरेको छ।






















