• याम दरै (संवाददाता) तनहुँ, १७ असोज २०८३ शनिबार । ।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट आफन्त तथा घरबार गुमाएका पीडितको राहतका लागि तनहुँको व्यास १ मा रहेको भादगाउँ दरै महिला समूह र भादगाउँ दरै समाजले मानवीय सहयोग गरेका छन् ।

पीडितको दुःखमा आफ्नो समुदायको साथ रहने सन्देशसहित दुवै संस्थाले संयुक्त रूपमा ५० हजार ८ सय ७० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।राहत रकम संकलनमा भादगाउँ दरै महिला समूहकी अध्यक्ष जमुना दरैको सक्रिय भूमिका रहेको थियो। अध्यक्ष दरैको पहलमा महिला समूहका सदस्यहरूले स्वेच्छिक रूपमा रकम सहयोग गरेका थिए भने संकलित रकममा भादगाउँ दरै समाजले समेत थप सहयोग गरेको बताइएको छ। समुदायभित्रबाट जुटाइएको रकम विपद्मा परेका नागरिकको राहतमा उपयोग होस् भन्ने उद्देश्यले कोषमा जम्मा गरिएको हो।

भादगाउँ दरै समुदायले आफ्नो सीमित स्रोतबाट समेत विपद्मा परेका नागरिकका लागि सहयोग जुटाएर ‘दुःखमा साथ दिनु नै मानवीय धर्म हो’ भन्ने सन्देश दिएको छ। गत भदौ १० गते रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको पीडामा मलम लगाउने उद्देश्यले गरिएको यो सहयोगले विपद्का बेला सामुदायिक एकता र मानवीय संवेदनाको महत्वलाई थप उजागर गरेको छ।






















