प्रहार समाचार । तनहुँ, १७ भदौ २०८३ बुधबार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनमा सहयोग पुर्याउन तनहुँ उद्योग वाणिज्य संघले १ लाख ५६ हजार १ सय ५६ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपत्तिको यस घडीमा बाढी प्रभावित नागरिकको पीडामा साथ दिने उद्देश्यले संघले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक देखिएको भन्दै संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ। संघका अनुसार उक्त रकम नेपाल उद्योग वाणिज्य महासंघमार्फत सम्बन्धित प्रभावित क्षेत्रमा रहेका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइनेछ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्लले विपत्तिमा परेका नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनले विपद्का बेला निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको साथमा उभिनुपर्ने धारणा राखे।अध्यक्ष मल्लका अनुसार संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो। विपत्तिबाट प्रभावित नागरिकको जीवन सहज बनाउन राहत, उद्धार र पुनःस्थापनाका अभियानमा निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने संघको विश्वास छ।
















