प्रहार समाचार । तनहुँ, १७ भदौ २०८३ बुधबार । भ राष्ट्रिय संकटका बेला रमाइलो र व्यक्तिगत खर्चभन्दा पीडामा परेकालाई सहयोग गर्नु ठूलो मानवीय दायित्व भएको सन्देश दिँदै तनहुँको व्यास नगरपालिका–१२ छाब्दी निवासी गाडी चालक नवराज अधिकारीले आफ्नो कमाइ बाढीपीडितका लागि समर्पण गरेका छन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि अधिकारीले भदौ १५ र १६ गते गाडी चलाएर गरेको आम्दानी राहतस्वरूप प्रदान गर्ने घोषणा गरेका थिए। सोही प्रतिबद्धताअनुसार उनले २३ हजार २ सय २५ नगद प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन्। पेशाले गाडी चालक रहेका अधिकारीले आफ्नो श्रम र पसिनाबाट आर्जित रकम विपद्मा परेका नागरिकका लागि सहयोग गरेर उदाहरणीय कार्य गरेका छन्।अधिकारीले राष्ट्रिय संकटको समयमा मनोरञ्जन र रमाइलोमा समय तथा पैसा खर्च गर्नुभन्दा समस्यामा परेका नागरिकको साथमा उभिनु उचित हुने बताए।

“राष्ट्रिय संकटको बेला रमाइलो गर्नुभन्दा सहयोगमा समय खर्च गर्नु राम्रो हुन्छ। म पनि हातमा हात मिलाउन चाहन्छु। तपाईंको सानो सहयोगले दुःखमा परेकाहरूलाई ठूलो सहयोग हुन सक्छ,” उनले भने। विपद् कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या नभएकाले सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा उनले जोड दिए। आफ्नो सानो प्रयासले बाढीपीडितको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गर्दै उनले अन्य नागरिकलाई पनि सहयोगका लागि अघि बढ्न आग्रह गरे।
अधिकारीको सहयोग रकमको हिसाबले ठूलोभन्दा पनि आफ्नो श्रमबाट आर्जित कमाइ विपद्मा परेका नागरिकका लागि समर्पण गर्ने भावनाका कारण प्रेरणादायी बनेको छ। विपद्का बेला राज्यसँगै नागरिकस्तरबाट समेत सहयोग आवश्यक पर्ने अवस्थामा एक सामान्य गाडी चालकले देखाएको यो मानवीय पहलले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ। आफ्नो आम्दानीलाई व्यक्तिगत रमाइलोभन्दा पीडितको राहतमा खर्च गर्ने अधिकारीको निर्णयले सानो सहयोगले पनि दुःखमा परेकालाई ठूलो राहत र हौसला दिन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
















