हेडलाईनसमाचारबागमती

नागढुङ्गा ओरालोमा पहिरोले राजमार्गको आधा भाग खस्यो, कृष्णभीरमा सडक पूर्ण अवरुद्ध

प्रहार समाचार । तनहुँ, १७ भदौ २०८३ बुधबार । नागढुङ्गा – नौबिसे सडक खण्ड अन्तर्रगत नागढुङ्गा ओरालो चोकमा गएराति पहिरो जाँदा सडकको आधा भाग खसेको छ। पहिरोका कारण उक्त सडकखण्ड जोखिमयुक्त बनेपछि प्रहरीले सडक सुरक्षाका लागि डोरी टाँगेर सावधानी अपनाएको जनाएको छ।

हाल सो स्थानमा यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।पहिरोको जोखिम बढेपछि सवारीसाधनलाई सावधानीपूर्वक आवतजावत गराइएको प्रहरीले जनाएको छ। सडकको आधा भाग नै खसेकाले थप पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै चालक तथा यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ। राजमार्गमा यातायातको चाप बढ्दा आवतजावतमा थप समस्या हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकले सम्बन्धित सुरक्षा निकायको निर्देशन पालना गर्नुपर्ने अवस्था छ।

यसैबीच, धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन्। नागढुङ्गा र कृष्णभीर दुवै स्थानमा पहिरोका कारण राजमार्ग प्रभावित भएपछि काठमाडौं–धादिङ हुँदै पश्चिमतर्फ जाने तथा काठमाडौं भित्रिने यातायातमा असर परेको छ। सडक खुलाउन सम्बन्धित निकायले पहिरो हटाउने तथा सडक सुरक्षाको काम अघि बढाउने तयारी गरिरहेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button