प्रहार समाचार । रसुवा, १७ भदौ २०८३ बुधबार । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धारलाई तीव्र बनाएको छ। आज साँझसम्म सेनाले विभिन्न प्रभावित क्षेत्रबाट थप ३४ जनाको हवाई उद्धार गरेको छ। यससँगै हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित ३ हजार ९२५ जनाको उद्धार गरेको जनाएको छ।

बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका टनेलमा बेपत्ता तथा जोखिममा परेकाको खोजीलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ। रसुवागढी हाइड्रोपावरको टनेलमा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको टोली २७५ मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। उद्धार कार्यलाई थप तीव्र बनाउन हेभी मेसिन तथा एक्साभेटर टनेल क्षेत्रमा पुर्याउने तयारी भइरहेको छ। लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले करिब १५० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी गरिरहेको छ।चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन तथा विदेशी नागरिकसहितको संयुक्त टोली करिब १५० मिटरसम्म पुग्दा टनेल बन्द अवस्थामा फेला परेको छ। टोलीले साउन्ड डिटेक्टरमार्फत टनेलभित्र निगरानी गरिरहेको छ। अपर त्रिशूली–१ आयोजनाको टनेलको मुख ढुङ्गाले छेकिएको अवस्थामा रहेकाले भित्र प्रवेश गर्ने प्रयास जारी छ।

हाकु बेसी क्षेत्रमा विदेशी नागरिकसहितको संयुक्त टोली २६० मिटरसम्म पुगेर खोजी गर्दा हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ।त्रिशूली–३ ए आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले चारवटा स्काभेटर र एक बबक्याट प्रयोग गरी टनेल क्षेत्रमा जमेको माटो हटाइरहेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोग गरी अवरोध हटाउने काम भइरहेको छ। टनेलको आउटलेटमा लेदो भरिएकाले बबक्याटबाट माटो हटाउने कामसँगै अगाडि रहेको चट्टान ब्लास्टिङ गर्ने कार्य जारी रहेको छ। त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ६१, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजना कार्यालय तथा आवास क्षेत्र पहिचान गरी बबक्याटको प्रयोगबाट अफिस र क्याम्प क्षेत्रमा खोजी गरिरहेको छ।

यसैबीच नेपाली सेनाले प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्तीमार्फत खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउनुका साथै चिकित्सक तथा स्वास्थ्य अधिकृतसहितको टोलीले प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य जारी रहेको छ।रसुवाको टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसनसमेत सुरु गरिएको छ। टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन, राहत सामग्री ढुवानी तथा आपत्कालीन उपचारका कामलाई समन्वयात्मक रूपमा अघि बढाइरहेका छन्।बाढी प्रभावित क्षेत्रमा रोग तथा संक्रमण फैलिन नदिन निसंक्रमणको कामलाई पनि तीव्र पारिएको छ।

रसुवाको धुन्चे तथा रेड पाण्डा क्षेत्र, नुवाकोटको सैन्य तालिम केन्द्र तथा त्रिशूली, चितवनको देवघाट, धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र तथा शव फेला परेका स्थानमा निसंक्रमणको काम भइरहेको छ। यसैगरी कास्कीको याम्दी–बाटुलीचौर, तनहुँको व्यास–५ चैनपुर तथा नवलपरासी पश्चिमको पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल नगरपालिका–४ र मुलपानी सामुदायिक वनलगायतका स्थानमा समेत निसंक्रमण भइरहेको सेनाले जनाएको छ।अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा निसंक्रमणको काम अघि बढाउने तयारी भइरहेको छ। खोज तथा उद्धारसँगै शव व्यवस्थापन, स्वास्थ्य सेवा, सडक सञ्चालन, राहत सामग्री ढुवानी र प्रभावित बस्तीमा सुरक्षा उपस्थिति बढाउँदै सेनाले बाढीपछिको उद्धार तथा राहत अभियानलाई निरन्तरता दिएको छ।
















