हेडलाईनसमाचारदेवघाटगण्डकी

भोटेकोशी बाढीको त्रासदी : तनहुँमा मात्रै ३१ शव फेला, खोज तथा उद्धार निरन्तर

प्रहार समाचार । तनहुँ, १३ भदौ २०८३ शनिबार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि तनहुँका आँबुखैरेनी र देवघाट क्षेत्रमा गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म ३१ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी टोलीले बाढी प्रभावित क्षेत्रमा निरन्तर खोजी गर्दा भदौ १० देखि १२ गतेसम्म ती शव फेला पारेका हुन्।प्रहरीका अनुसार भदौ १० गते ९ वटा शव फेला परेका थिए। ती सबै शव गण्डकी अस्पताल, पोखरामा राखिएको छ।

त्यसैगरी भदौ ११ गते थप १९ वटा शव फेला परेका थिए, जसमध्ये १४ वटा शव गण्डकी अस्पताल पोखरामा र पाँचवटा शव दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।त्यस्तै भदौ १२ गते देवघाट गाउँपालिका–५ बाट थप तीनवटा शव फेला परेका छन्। यी शव पनि दमौली अस्पतालमा राखिएको छ। तीन दिनको अवधिमा मात्रै यति ठूलो संख्यामा शव फेला पर्नुले भोटेकोशी बाढीले पुर्‍याएको मानवीय क्षतिको भयावह अवस्था उजागर गरेको छ। फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको प्रहरीले जनाएको छ।

खोजी अझै रोकिएको छैन। बाढीको भेलले बगाएका तथा बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी टोलीले देवघाट र आँबुखैरेनीलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार खोज तथा उद्धार कार्य भोलि पनि निरन्तर सञ्चालन हुनेछ। फेला परेका शवको पहिचान भएपछि मात्रै मृतकको वास्तविक विवरण र क्षतिको थप यकिन हुने बताइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button