प्रहार समाचार । तनहुँ, ८ भदौ २०८३ सोमबार । तनहुँको व्यास नगरपालिका–१२ छिरकनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा सडकको एक लेन अवरुद्ध भएको छ। पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावत गर्न कठिन भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार साँझ करिब ७ः४५ बजे सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जना र प्रहरी चौकी डुम्रेबाट ५ जनाको टोली घटनास्थलमा खटिएको छ।

प्रहरी टोलीले पहिरो हटाई सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको जनाएको छ। पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावतमा केही असहजता भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।















