हेडलाईनसमाचारबागमती

डा.भट्टराईको घर जलाउने धम्कीपछि सर्वत्र सुरक्षा चासो, सामाजिक सञ्जालमा लेख्ने व्यक्ति कारबाहीको दायरामा ल्याउन माग

प्रहार समाचार । काठमाडौं, ७ भदौ २०८३ आइतबार । सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घर जलाउने धम्की सार्वजनिक भएपछि घटनाले राजनीतिक वृत्तमा गम्भीर सुरक्षा चासो उत्पन्न गरेको छ। लबकुश थापा नामक फेसबुक प्रयोगकर्ताले ‘आज राति बाबुराम भट्टराईको घर जलाउने हो साथीहरू, जे पर्ला पर्ला’ भन्दै सामाजिक सञ्जालमा लेखेपछि उक्त अभिव्यक्ति सार्वजनिक भएको हो। अभिव्यक्तिमा ‘हाम्रो आस्थामाथिको प्रहार’ भन्दै आक्रोशसमेत व्यक्त गरिएको छ। उक्त पोस्टप्रति प्रतिक्रिया जनाउँदै डा. भट्टराईले धम्की दिने व्यक्तिमाथि तत्काल राज्यले नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै यस्ता गतिविधिलाई समयमै नियन्त्रण नगरे गम्भीर आपराधिक घटना निम्तिन सक्ने चेतावनी दिएका छन्। भट्टराईले राज्यका सम्बन्धित निकायलाई घटनालाई सामान्य रूपमा नलिई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्। भट्टराईले आगामी ‘जेन–जी विद्रोह’को वार्षिकी नजिकिँदै गएको सन्दर्भ जोड्दै संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताविरुद्ध प्रतिगामी तथा राष्ट्रघाती शक्तिले वितण्डा मच्चाउन सक्ने दाबीसमेत गरेका छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक हुने हिंसात्मक धम्की र उत्तेजक अभिव्यक्तिलाई समयमै नियन्त्रण गर्न नसके त्यसले वास्तविक हिंसाको रूप लिन सक्ने संकेत गरेका छन्।

घटनाले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको सीमा र सार्वजनिक व्यक्तिको सुरक्षासँग जोडिएको बहसलाई पुनः सतहमा ल्याएको छ। कुनै व्यक्तिको राजनीतिक आस्था वा असन्तुष्टिका नाममा घर जलाउने, भौतिक क्षति पुर्‍याउने वा हिंसात्मक गतिविधिको धम्की दिनु गम्भीर विषय भएकाले प्रहरीले पोस्टको वास्तविकता, लेख्ने व्यक्तिको पहिचान र धम्कीको उद्देश्यबारे अनुसन्धान गरी दोषी देखिए कानुनअनुसार कारबाही अघि बढाउनुपर्ने देखिन्छ। धम्की वास्तविक हो वा उत्तेजनामा गरिएको अभिव्यक्ति मात्र हो भन्ने विषयको अन्तिम टुंगो भने अनुसन्धानबाटै लाग्नेछ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button