हेडलाईनसमाचारबागमती

दिल्लीको ‘नेपाल संकेत’ : पहिलो विदेश भ्रमणमै काठमाडौं रोजे भारतीय सेना प्रमुख सेठले

प्रहार समाचार । काठमाडौं, ३१ साउन २०८३ आइतबार । भारतका नवनियुक्त सेना प्रमुख जनरल धिरज सेठले कार्यभार सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि काठमाडौं रोजेपछि भारतले नेपाललाई दिएको रणनीतिक प्राथमिकताबारे नयाँ बहस सुरु भएको छ। ३० जुन २०२६ मा भारतीय स्थल सेनाको ३१औँ प्रमुख बनेका सेठ पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदैछन्। तस्बिर : बिबिसि

भ्रमणको औपचारिक उद्देश्य नेपाल–भारतबीच लामो समयदेखि कायम सैन्य सम्बन्धलाई निरन्तरता दिनु र नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नु भए पनि, नयाँ सरकार गठनपछि भारतबाट भएको यो उच्चस्तरीय भ्रमणलाई केवल सैन्य परम्पराको औपचारिकतामा सीमित गरेर हेर्न नहुने कूटनीतिक वृत्तको बुझाइ छ।सेठको भ्रमणको सबैभन्दा अर्थपूर्ण पक्ष समय र प्राथमिकता बनेको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार गठनपछि नेपालमा भारत, चीनलगायत बाह्य शक्तिहरूसँगको सम्बन्धलाई लिएर नयाँ राजनीतिक र कूटनीतिक समीकरणबारे चर्चा चलिरहेका बेला भारतीय सेनाका प्रमुखले पहिलो विदेश गन्तव्यका रूपमा काठमाडौं रोजेका हुन्। यसअघि प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग प्रत्यक्ष भेटवार्ता गर्दै नेपाल–भारत ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका थिए। त्यसैले सेठको भ्रमणलाई भारतबाट नयाँ सरकारसँग उच्च तहमा संवाद बढाउने प्रयासका रूपमा पनि हेरिएको छ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा विशेष समारोहबीच जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ। नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको सम्मान दिने परम्परा लामो समयदेखि चलिआएको छ। सेठले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय सैन्य सहकार्य, तालिम, विपद् व्यवस्थापन तथा आपसी सुरक्षा सहकार्यका विषयमा छलफल गर्नेछन्। उनले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्ने र प्रधानमन्त्री शाहसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतहरूले जनाएका छन्। यद्यपि प्रधानमन्त्रीसँगको भेटबारे भ्रमणअघि नै केही अनिश्चितता रहेको समाचारसमेत सार्वजनिक भएको थियो।तर काठमाडौंमा सेठको आगमनले उठाएको प्रश्न सैन्य कूटनीतिभन्दा परसम्म पुगेको छ—नेपालमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाबीच भारतले काठमाडौंसँग आफ्नो संवाद कति गहिरो बनाउन खोजेको हो? नेपालले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्दै आएको अवस्थामा नयाँ सरकारसँग भारतको प्रारम्भिक उच्चस्तरीय सम्पर्कलाई रणनीतिक सन्देशका रूपमा बुझ्नेहरू छन्।

अर्कोतर्फ, भारतीय सेनासँग नेपालको ऐतिहासिक सम्बन्ध, गोर्खा सैनिकको प्रश्न र नियमित सैन्य सहकार्यका कारण यो भ्रमणलाई द्विपक्षीय सम्बन्धको स्वाभाविक निरन्तरताका रूपमा हेर्ने आधार पनि उत्तिकै बलियो छ। त्यसैले सेठको पाँचदिने नेपाल बसाइमा हुने औपचारिक भेटघाटभन्दा पनि प्रधानमन्त्री शाहसँगको संवाद, सैन्य सहकार्यका सम्भावित एजेन्डा र नयाँ सरकारसँग भारतले अघि बढाउने आगामी कूटनीतिक कदमलाई काठमाडौंले विशेष चासोका साथ हेर्ने भएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button