प्रहार समाचार । तनहुँ, २४ साउन २०८३ आइतबार । लमजुङको मध्यनेपाल नगरपालिका–३ निवासी स्वर्गीय मित्रलाल भट्टराईको ४५औँ स्मृतिम भट्टराई परिवारले तनहुँको व्यास नगरपालिका–७, नरङ्गास्थित व्यास नगर समता विद्यालयमा अध्ययनरत अनाथ, एकल अभिभावक तथा विपन्न विद्यार्थीहरूलाई स्नेहपूर्वक भोजन गराएको छ।

स्वर्गीय भट्टराईको स्मृतिमा परिवारले विद्यालयमा पुगेर विद्यार्थीलाई भोजन गराउँदै सामाजिक तथा मानवीय सेवामार्फत उहाँको सम्झना गरेको हो।स्नेहभोज कार्यक्रममा स्वर्गीय मित्रलाल भट्टराईकी धर्मपत्नी बसुन्धरा भट्टराई, छोरा विष्णु भट्टराई, बुहारी गीता भट्टराई, पूर्णकान्ता भट्टराई, सन्त भट्टराई, मिना भट्टराई, शुभनाथ भट्टराई र पवित्र भट्टराईको सहभागिता तथा सहयोग रहेको थियो। कार्यक्रममा परिवारका सदस्यहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गरी भोजन गराएका थिए।

त्यसैगरी छोरीहरू विमला ढकाल र अप्सरा ढकाल, सानोबुवा–सानिआमा यज्ञप्रसाद भट्टराई र चिजा भट्टराई, नातिहरू विशाल, सुशान्त र प्रतीक तथा नातिनीहरू निशा र जेनिशासहित भट्टराई परिवारका अन्य सदस्यहरूको समेत उपस्थिति र सहयोग रहेको थियो। परिवारले स्वर्गीय भट्टराईको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यालयमा अध्ययनरत आर्थिक तथा पारिवारिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरेको हो।

व्यास नगर समता विद्यालय परिवारले स्वर्गीय मित्रलाल भट्टराईको आत्माको चिरशान्तिको कामना गर्दै भट्टराई परिवारप्रति कृतज्ञता व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले स्वर्गीय भट्टराईको स्मृतिमा विद्यार्थीलाई भोजन गराउने कार्यले मानवीय सेवाको भावनालाई निरन्तरता दिएको भन्दै सम्पूर्ण भट्टराई परिवारप्रति आभार व्यक्त गरेको जनाए।















