• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, २४ साउन २०८३ आइतबार । लमजुडको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की आफ्नै घरभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको छ। शनिबार राति करिब ९ बजे घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीका अनुसार सार्की आफ्नै घरको कोठामा रहेको खाटमुनि मृत अवस्थामा फेला परेकी हुन्।

घटनास्थलको प्रारम्भिक निरीक्षणका क्रममा उनको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएपछि घटना शंकास्पद रहेको निष्कर्षसहित प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान थालेको हो। घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।स्थानीयका अनुसार सार्कीका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको थियो भने छोरी विवाहपछि छुट्टै बस्दै आएकी थिइन्। त्यसपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन्।

घटना गम्भीर प्रकृतिको देखिएपछि प्रहरीले मृतकको घरमा बस्ने व्यक्तिसहित ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि सदरमुकाम बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङ पठाएको छ। घटनाको कारण, हत्या भएको हो वा होइन तथा घटनामा को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे विस्तृत अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।
















