प्रहार समाचार । तनहुँ, १९ साउन २०८३ मंगलबार । मुग्लिङ–पोखरा सडकखण्डमा बढ्दो सवारी चाप र वर्षायामका कारण हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

जस अन्तर्रगत आज बिहान ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारी साधनका चालकलाई सुरक्षित यात्रासम्बन्धी जानकारी दिइएको हो।प्रहरीका अनुसार चालकहरूलाई सडकको वर्तमान अवस्था, वर्षायाममा अपनाउनुपर्ने सावधानी, लेन अनुशासनको पालना, सवारीको गति नियन्त्रण तथा ट्राफिक नियमको पूर्ण पालनाबारे सम्झाइ–बुझाइ गरिएको थियो।

दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।सचेतना कार्यक्रमअन्तर्गत २१ वटा दुईपाङ्ग्रे, ३५ वटा चारपाङ्ग्रे साना सवारी तथा ६१ वटा ठूला सवारी साधनका चालकलाई प्रत्यक्ष रूपमा सचेत गराइएको प्रहरीले जनाएको छ।

विशेषगरी लामो दूरीका सार्वजनिक तथा मालवाहक सवारी चालकलाई थकान व्यवस्थापन, जोखिमपूर्ण ओभरटेक नगर्न र प्रतिकूल मौसममा थप सतर्कता अपनाउन आग्रह गरिएको थियो।तनहुँ प्रहरीले मुग्लिङ–पोखरा सडकखण्डलाई दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिएर नियमित रूपमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। प्रहरीका अनुसार चालकको सचेतना वृद्धि, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र जिम्मेवार सवारी सञ्चालनमार्फत सडक दुर्घटना न्यूनीकरण गर्ने अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ।
















