प्रहार समाचार । तनहुँ, १६ साउन २०८३ शनिबार । जिल्ला प्रहरी कार्यालय तनहुँले पर्यटकीय क्षेत्रको सुरक्षा सुदृढ बनाउन व्यास नगरपालिका–३ दुर्गा मन्दिरदेखि मादी पुल, व्यास–५ चापाघाट हुँदै मानुङकोटसम्म दुईदिने पैदल गस्ती सम्पन्न गरेको छ।

हिंजो अपराह्न ४ बजे प्रहरी नायब निरीक्षकको कमाण्डमा १५ सदस्यीय टोली गस्तीका लागि परिचालन गरिएको थियो। गस्ती टोलीले पर्यटकीय क्षेत्रको सुरक्षा अवस्था, सार्वजनिक गतिविधि तथा सम्भावित जोखिमको अनुगमन गर्दै मानुङकोटस्थित भ्यू–टावर भवनमा मुकाम गरेको थियो। प्रहरीका अनुसार गस्तीको उद्देश्य पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय बासिन्दा र पर्यटकमा सुरक्षा अनुभूति अभिवृद्धि गर्नु रहेको थियो।


गस्तीको अनुगमन तथा प्रहरी टोलीको उत्प्रेरणा अभिवृद्धिका लागि प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी निरीक्षक अमृत लामिछानेसहित सात सदस्यीय अर्को पैदल टोली आज बिहान ४ः३० बजे मानुङकोटतर्फ प्रस्थान गरेको थियो। उक्त टोली बिहान ८ः१५ बजे मानुङकोट पुगेर मुख्य गस्ती टोलीसँग भेट गरेपछि दुवै टोली पैदलमार्ग हुँदै फर्किएको थियो। दुवै प्रहरी टोली बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय तनहुँ आइपुगेका छन्।

गस्तीका क्रममा स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीले पर्यटकीय क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन यस्ता लामो दूरीका पैदल गस्तीलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।



















