हेडलाईनसमाचारमदेश

सीमा नाकामा कडाइ : परिचयपत्र बिना नेपाल प्रवेश नपाइने, सर्लाहीमा सुरक्षा सतर्कता उच्च

प्रहार समाचार । सर्लाही,१५ साउन२०८३ शुक्रबार । सर्लाही जिल्ला सुरक्षा समितिले भारतसँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अब अनिवार्य रूपमा आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाउनुपर्ने निर्णय गरेको छ। हिंजो बसेको सुरक्षा समितिको बैठकले वर्तमान सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै परिचय यकिन भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाकामा निगरानी थप कडा पारिएको छ।

पूर्वी नेपालका केही जिल्लामा विकसित सुरक्षा अवस्थापछि सर्लाहीमा पनि उच्च सतर्कता अपनाइएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले विभिन्न धर्मका धार्मिक अगुवासँग छलफल गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।छलफलमा कुनै पनि प्रकारका विवाद वा असमझदारीलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ। साथै, हिंसात्मक वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै पक्षलाई अपिल गर्दै धार्मिक जुलुस, र्‍याली, सभा वा सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णयसमेत गरिएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक अपिल जारी गर्दै जिल्लामा सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै नागरिकसँग सहयोगको आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार शुक्रबार बिहानसम्म जिल्लाको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको छ। सदरमुकाम मलङ्गवासहित केही स्थानमा शान्तिपूर्ण प्रदर्शन भए पनि समग्र सुरक्षा अवस्था नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button