प्रहार समाचार । सुनसरी , १५ साउन २०८३ शुक्रबार । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत साउन १० गते भएको झडपमा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। हिंजो राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालयमा भएको औपचारिक सम्झौतापछि मृतकको शव आजै अन्तिम संस्कार गरिने भएको छ।

सहमतिसँगै सरकारले मृतक दुवैलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ।सम्झौताअनुसार सरकारले मृतकका दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अघि बढाउने तथा छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई यथाशीघ्र कार्यान्वयन गर्ने सहमति गरेको छ। पीडित पक्षले उठाएका प्रमुख मागलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
त्यसैगरी, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ। सरकारले घटनाप्रति संवेदनशीलता देखाउँदै पीडित परिवारको न्याय, राहत र सम्मान सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। सम्झौतापत्रमा पीडित परिवारको तर्फबाट ओम प्रकाश मेहताका अभिभावक तथा जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। उक्त सहमतिसँगै केही दिनदेखि जारी गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ।















