काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फ मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तस्बिर : एआई

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घटनाको जानकारी पाएलगत्तै शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरी तत्काल छानबिन र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्नपत्र सार्वजनिक गरेको आरोप लागेका व्यक्तिलाई आइतबार बिहान नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले ‘एमबीएस फर्स्ट सेम सेक्शन–सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाएको खुलेको प्रहरीको दाबी छ।
साउन ८ गते सञ्चालित ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि व्यापक चासो बढेको थियो।घटनापछि शिक्षामन्त्री पोखरेल शनिबार राति मन्त्रालयमै पुगेर सम्बन्धित अधिकारी, प्रहरीका उच्च पदाधिकारी तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग निरन्तर छलफलमा जुटेका थिए। उता, व्यवस्थापन संकाय डिनको कार्यालयले घटनाबारे साइबर ब्युरोलाई औपचारिक पत्राचार गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेको छ। यसअघि फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले ह्वाट्सएप समूहको स्क्रिनसट सार्वजनिक गर्दै प्रश्नपत्र बाहिरिएको विषयमा विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो।
यसैबीच, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ भने प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न जोसुकैमाथि कानुनी कारबाही गरिने जनाइएको छ।















