प्रहार समाचार । तनहुँ, १० साउन २०८३ आइतबार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको राष्ट्रिय परिषद् बैठक तनहुँको दमौलीमा सुरु भएको छ। देशभरका समिति पदाधिकारीहरूको सहभागितामा आयोजित बैठकको हिंजो उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले देश निर्माणका लागि सकारात्मक सोच भएका, नैतिकवान र रचनात्मक युवाशक्तिको आवश्यकता रहेकोमा जोड दिए।

परिषद्ले सञ्चालन गर्दै आएका सिर्जनात्मक तथा राष्ट्रहितमुखी गतिविधिले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा परिषद्का राष्ट्रिय अध्यक्ष प्रा. डा. दयाराम भुसालले परिषद्ले विभिन्न कार्यक्रममार्फत देशमा सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्दै आएको उल्लेख गर्दै असल, नैतिकवान र चरित्रवान नागरिक निर्माण नै राष्ट्र विकासको आधार भएको बताए।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाशले समाजमा बढ्दो निराशा र युवामा देखिएको नकारात्मक सोचलाई सकारात्मक दिशामा रूपान्तरण गर्न परिषद्ले नेतृत्व विकास तथा व्यक्तित्व विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्कीले विश्वविद्यालय सुधार, शैक्षिक अभियान तथा राष्ट्रहितका विषयमा परिषद्ले निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

राष्ट्रिय संगठन सचिव रमेश कँडेलले संगठनलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउने दिशामा बैठक केन्द्रित रहने बताए। महासचिव कार्कीले २०८० सालमा विश्वविद्यालयको प्रवेश, परीक्षा, नतिजा र पाठ्यक्रम सुधारका विषयमा सञ्चालन गरिएको राष्ट्रव्यापी शैक्षिक अभियानको प्रभावस्वरूप त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नेपाली भाषामा समेत प्रकाशन गर्ने निर्णय गरेको उल्लेख गरे। उनले शैक्षिक संस्थालाई दलगत राजनीतिक गतिविधिबाट मुक्त बनाउनुपर्ने परिषद्को स्थापनाकालदेखिको अडानलाई सरकारले सम्बोधन गरेको भन्दै स्वागतयोग्य निर्णय भएको बताए।

साथै गत वर्षको जेन्जी आन्दोलनका क्रममा परिषद्का कार्यकर्ताले सार्वजनिक सम्पत्तिको संरक्षण र हिंसात्मक गतिविधि रोक्न सक्रिय भूमिका खेलेको पनि उनले जानकारी दिए।

परिषद्का उपाध्यक्ष पुष्पराज खतिवडाका अनुसार दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय परिषद् बैठकमा संगठनात्मक गतिविधिको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा देशको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र समसामयिक विषयमा विस्तृत छलफल हुनेछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका परिषद्का विभिन्न तहका पदाधिकारी सहभागी रहेको बैठकले संगठनलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने तथा राष्ट्रहितका कार्यक्रमलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने रणनीति तय गर्ने विश्वास परिषद्ले जनाएको छ।



















