हेडलाईनसमाचारगण्डकीविजनेस

लमजुङको मध्यनेपाल नगरपालिकाद्वारा रैथाने कृषि उपज उत्पादक किसानलाई अनुदान वितरण

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले स्थानीय रैथाने कृषि उत्पादनलाई प्रोत्साहन गर्दै रैथाने हाट बजारमा आबद्ध ८७ जना कृषकलाई उत्पादनमा आधारित अनुदान तथा ढुवानी खर्चमा सहयोग गरेको छ। नगरपालिकाले आज हाट बजारमै पुगेर कृषकलाई उत्पादित कृषि उपज आधारमा अनुदान वितरण गरेको हो ।

रैथाने कृष उत्पादन प्रतिकिलो रु. ३ का दरले अनुदान र ढुवानी खर्चमा ५० प्रतिशत सहयोग रकम वितरण गरेको नगरपालिकाले जनाएको छ । स्थानीय उत्पादनको बजारीकरण, कृषकको आम्दानी वृद्धि र रैथाने कृषि प्रणालीको संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ।

कार्यक्रममा बोल्दै मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्नु स्थानीय सरकारको प्राथमिकता भएको बताए। उनले रैथाने उत्पादनलाई प्रवर्द्धन गर्न सके कृषकको आर्थिक अवस्था बलियो बन्नुका साथै स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने उल्लेख गरे। कृषकलाई उत्पादनमा निरन्तरता दिन प्रोत्साहित गर्दै उनले अनुदानलाई उत्पादनसँग जोडेर कृषकको मेहनतको सम्मान गर्ने नीति नगरपालिकाले लिएको बताए।

नगरप्रमुख पाण्डेले कृषकलाई आफ्नो खेतबारीमा उत्पादन भएका रैथाने तथा स्थानीय कृषि उपज हाट बजारमा ल्याएर बिक्री गर्न आग्रह गरे। उनले कृषकको उत्पादनलाई बजारसँग जोड्ने, ढुवानीमा सहजीकरण गर्ने र स्थानीय उत्पादनको उपभोग बढाउने अभियानलाई नगरपालिकाले निरन्तरता दिने बताए। “कृषकको उत्पादन बढे मात्रै स्थानीय अर्थतन्त्र बलियो हुन्छ, त्यसैले उत्पादन गर्ने किसानलाई बजारको सुनिश्चितता दिन नगरपालिका प्रतिबद्ध छ,” उनले भने।

मध्यनेपाल नगरपालिकाले सबै कृषक दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो उत्पादन रैथाने हाट बजारमा ल्याउन अनुरोध गरेको छ। नगरपालिकाले आगामी असोज १ गतेदेखि भोर्लेटारमा समेत रैथाने हाट बजार सञ्चालन गर्ने जनाएको छ। नगरपालिकाले उत्पादनदेखि बजारीकरणसम्म कृषकलाई जोड्ने गरी अघि बढाएको यो अभियानले स्थानीय उत्पादनको संरक्षणसँगै कृषकको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button