प्रहार समाचार । तनहुँ, १ साउन २०८३ शुक्रबार । तनहुँका साहित्यकार आकाश अधिकारी ‘बालहरि’का दुई नयाँ कृति ‘चेतनाको चिराग’ (बाल नाटक सङ्ग्रह) र ‘जादुमयी पखेटा’ (बाल निबन्ध सङ्ग्रह) आजदेखि बजारमा आएका छन्। लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय अधिकारीले बालपाठकलाई लक्षित गर्दै यी दुई कृति सार्वजनिक गरेका हुन् ।

नयाँ कृतिसँगै उनको साहित्यिक योगदान थप विस्तार भएको साहित्यिक वृत्तले जनाएको छ।म्याग्दे गाउँपालिका–४, तनहुँमा वि.सं. २०३३ माघ २ गते जन्मिएका अधिकारी नेपाली साहित्यका प्रयोगधर्मी स्रष्टाका रूपमा परिचित छन्। यसअघि उनले ‘रहर’ गीतलसङ्ग्रह, ‘आकाश खुल्दै छ’ कवितासङ्ग्रह, ‘बिस्कुन बालुवाको’ नाटकसङ्ग्रह, ‘समृद्धि संयुक्त’ मुक्तकसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित गरिसकेका छन्। उनका सिर्जनाले कविता, नाटक, मुक्तक, गीत तथा बालसाहित्यलगायत विभिन्न विधालाई समेट्दै आएका छन्।

अधिकारी गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँका संस्थापक अध्यक्षसमेत हुन्। गीत र गजलको संयुक्त स्वरूप ‘गीतल’ अवधारणालाई स्थापित गर्दै उनी मोफसलबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक गतिविधि सञ्चालन गर्न सक्रिय छन्। नेपाली भाषा, साहित्य र कलाको विकास तथा ग्रामीण तहसम्म साहित्यिक चेतना विस्तारमा उनले निरन्तर योगदान पुर्याउँदै आएका छन्।लेखनसँगै निर्देशन र अभिनयमा समेत रुचि राख्ने अधिकारीले कोरोना महामारीको विषयवस्तुमा आधारित ‘कहर’ लघु चलचित्रको लेखनसमेत गरेका छन्। साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप उनले समरसता अन्तर्राष्ट्रिय सम्मान, दीपा–जनमत सम्मान, शक्ति पुरस्कार (बागलुङ), देशभक्त गणतान्त्रिक मञ्च सम्मानसहित दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्। उनका नवीनतम दुई कृति बजारमा आएसँगै नेपाली बालसाहित्यले थप समृद्धि पाउने अपेक्षा गरिएको छ।
















