प्रहार समाचार । तनहुँ, १ साउन २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दी बाराही मन्दिर आज साउने सङ्क्रान्तिसँगै एक महिनाका लागि भक्तजनका लागि पूजा अर्चना गर्ने कार्य बन्द गरिएको छ। सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गरेसँगै दक्षिणायन प्रारम्भ हुने धार्मिक मान्यताअनुसार साउन महिनाभर सर्वसाधारणका लागि मन्दिरमा नियमित पूजा–अर्चना, दर्शन तथा भाकल पूजा बन्द रहने छ।

छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर आलेका अनुसार यस अवधिमा मन्दिर परिसरमा दैनिक धुप–धुँवार र नित्य धार्मिक विधि मात्र सञ्चालन गरिनेछ।हिन्दू धार्मिक परम्पराअनुसार दक्षिणायनलाई देवताहरूको विश्रामकालका रूपमा लिने गरिन्छ। यही विश्वासका आधारमा छाब्दी बाराही मन्दिरमा वर्षौंदेखि साउन महिनाभर विशेष नियम पालना गर्दै सार्वजनिक पूजा–अर्चना स्थगित गर्ने परम्परा रहिआएको छ। मन्दिर बन्द रहे पनि पुजारीमार्फत दैनिक नित्यपूजा, दीप प्रज्वलन र धुप–धुँवारको कार्य भने नियमित रूपमा सञ्चालन हुने विकास कोषले जनाएको छ।छाब्दी बाराही मन्दिर तनहुँकै प्राचीन तथा आस्थाको केन्द्रका रूपमा परिचित छ।

बाराही देवीको शक्तिपीठका रूपमा श्रद्धालुहरूबीच प्रसिद्ध रहेको यस मन्दिरमा तनहुँसहित कास्की, लमजुङ, गोरखा, स्याङ्जा लगायत विभिन्न जिल्लाबाट भक्तजन दर्शनका लागि आउने गर्दछन्। विशेषगरी मंगलबार, शनिबार, दशैं, चैते दशैं तथा अन्य धार्मिक अवसरमा यहाँ ठूलो संख्यामा श्रद्धालुको भीड लाग्ने गर्दछ। मनोकामना पूरा हुने जनविश्वासका कारण यहाँ पशुबलि, भाकल पूजा तथा विशेष पूजाआजा गर्ने परम्परा पनि रहँदै आएको छ।स्थानीय धार्मिक विश्वास, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्व बोकेको छाब्दी बाराही मन्दिर तनहुँको प्रमुख धार्मिक पर्यटन गन्तव्यसमेत मानिन्छ।

साउन महिनाभर बन्द रहने परम्परापछि भदौ १ गतेदेखि पुनः विधिवत् पूजा–अर्चना र सर्वसाधारणका लागि दर्शन खुला गरिने विकास कोषले जनाएको छ। मन्दिर प्रशासनले साउन महिनामा बन्दको अवधिलाई सम्मान गर्दै अनावश्यक रूपमा मन्दिर परिसरमा भीड नगर्न भक्तजनलाई अनुरोध गरेको छ।















