प्रहार समाचार । तनहुँ, १ साउन २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिकाको २४२औँ नियमित कार्यपालिका बैठकले सडक अतिक्रमण हटाउन कडा निर्देशनदेखि शिक्षक अनुदान कोटा वितरण, सेवा प्रवाह सुधार, भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रिया अघि बढाउनेलगायत महत्वपूर्ण नौ वटा निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले नगरभित्रका विकास, शिक्षा, प्रशासन र सेवा प्रवाहसँग सम्बन्धित विषयमा आवश्यक निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित शाखालाई निर्देशन दिएको हो।

बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था तथा आन्तरिक आय, सञ्चित कोष, भुक्तानी र क्रमागत दायित्वको समीक्षा गर्दै दायित्वलाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। साथै आर्थिक वर्ष २०८२/०८३ मा प्रवाह भएका सेवाको समीक्षा गर्दै सूचना प्रविधिमैत्री र नगरवासीमैत्री सेवा प्रवाहका लागि जनप्रतिनिधिसँग समन्वय गरी सेवा थप प्रभावकारी बनाउन सम्बन्धित शाखालाई निर्देशन दिएको छ। शिक्षा क्षेत्रतर्फ बैठकले संघीय शिक्षा मन्त्रालयबाट प्राप्त १९ माध्यमिक र पाँच आधारभूत तहका शिक्षक अनुदान कोटा वितरण गर्ने निर्णय गरेको छ। अघिल्लो आर्थिक वर्षमा कार्यरत अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका आधारमा निरन्तरता दिने वा नयाँ विज्ञापनमार्फत नियुक्ति गर्ने जिम्मेवारी विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ।
साथै शिक्षा नियमावलीमा भएका नयाँ व्यवस्थाबारे कार्यपालिका सदस्य, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकबीच साउन १० गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको छ।बैठकले व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा सडक मापदण्ड मिचेर बनाइएका संरचना तथा सडकमा असर पर्ने छानाको पानीका पाइप १५ साउनभित्र हटाउन अन्तिम निर्देशन दिएको छ। अटेर गर्ने संरचना नगरपालिकाले नै हटाउने तथा आवश्यक परे सुरक्षा निकायसँग समन्वय गर्ने निर्णय गरिएको छ। त्यस्तै प्रदेश लोक सेवा आयोगबाट नयाँ कर्मचारी सिफारिस भएसँगै केही करार कर्मचारीलाई सेवामा निरन्तरता दिन नसकिने अवस्था आएको भन्दै उनीहरूको सेवाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिएको छ।
यसैगरी बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण प्रक्रिया प्रभावकारी बनाउन नगर तथा वडास्तरीय सहजीकरण समिति पुनर्गठन गर्ने निर्णय गरेको छ। साथै व्यास–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिराज काफ्ले र व्यास–१४ स्थित अमरज्योति आधारभूत विद्यालयका राहत शिक्षक सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको नगर प्रवक्ता सुरेश थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।















