हेडलाईनगण्डकीसाहित्य

प्रहार साहित्य : नाटक ‘अधर्मको आगो’ आकाश अधिकारी

पात्रहरू :पार्वती : १८-२० वर्ष (पतिको मृत्युपछि सती जान बाध्य पारिएकी)मधुसूदन : २५-३० वर्ष (शिक्षित, साहसी र क्रान्तिकारी युवा)जगन्नाथ : ६०-७० वर्ष (गाउँका कट्टरपन्थी पुरोहित)हरि : ३५-४० वर्ष (साधारण गाउँले र मलामी)गोविन्द : ४५-५० वर्ष (परम्पराको दबाबमा परेको औसत मानिस)विष्णु : ३५-४० वर्ष (साधारण गाउँले र मलामी)महिला, भीड र अन्य मलामीहरू(मिति :- विक्रम सम्वंत् १९७५ भदौ महिना । स्थान : मर्स्याङ्दी नदी किनार, सतीघाट । समय : अपरान्ह ४:३० बजे ।) (मञ्चको वातावरण : मञ्च अँध्यारो छ ।)

टाढाबाट मर्स्याङ्दी नदीको सुसाइ र मद्धिम शंखको ध्वनि सुनिन्छ । बिस्तारै पहेँलो उज्यालो फैलँदा मञ्चको बीचमा काठको ठूलो चिता देखिन्छ । चिताको दाहिनेतिर सेतो कात्रोमा बेरिएको विश्वमित्रको शव राखिएको छ । पुरोहित जगन्नाथ चिताको वरिपरि घुम्दै कुश र जल छर्कँदै छन् । मलामीहरू गम्भीर मुद्रामा छन्, कोही कानेखुसी गरिरहेका छन् भने कोही डराएका देखिन्छन् ।)

जगन्नाथ : (हात आकाशतिर फैलाउँदै, अधिकारवादी स्वरमा) सावधान ! यो साधारण मृत्यु होइन । यो त एउटा आत्माको महायात्रा हो । श्रवण गर, गाउँका धर्मपुत्रहरू ! आज यो मर्स्याङ्दीको किनारले एक धर्मप्राण मनुष्य विश्वमित्रलाई बिदाइ गर्दैछ । तर याद राख, यदि विधि पुगेन भने यो आत्माले प्रेत योनीमा भड्किनुपर्नेछ । पितृहरू रुष्ट हुनेछन् र हाम्रो गाउँमा अनिकालको छाया पर्नेछ ।

गोविन्द : (डराउँदै) बाजे, अघि घाट आउँदा बाटोमा अनौठो चिल कराएको थियो । कतै यो कुनै अशुभ संकेत त होइन ?

जगन्नाथ : (गम्भीर हुँदै) हो गोविन्द, त्यो प्रकृतिको चेतावनी हो । जबसम्म एउटी पतिव्रता नारीले आफ्नो कर्तव्य पूरा गर्दिनन्, तबसम्म यो धर्ती काँपिरहनेछ । अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न आज पार्वतीले अग्नि-परीक्षा दिनैपर्छ । यो त अधर्मको अन्त्य गरी धर्मको आगो बाल्ने बेला हो ।

हरि : (अलि अगाडि सर्दै, हतास स्वरमा) पुरोहित बाजे, हजुरको शास्त्रले जे भन्छ त्यो त शिरोधार्य छ । तर मेरो मनले एउटा कुरा मानिरहेको छैन । विश्वमित्र त बितेर गए, तर उनकी पत्नी पार्वती ? उनी त भर्खरै बैँसमा छिन् । हिजोसम्म हाँस्दै खेल्दै गरेकी त्यो चेलीको अब के होला ?

जगन्नाथ : (आँखा तरेर हेर्दै) के होला ? हरि, तिम्रो बुद्धिमा तुवाँलो लागेकै हो त ? नारीको भाग्य उसको सिउँदोको सिन्दूरसँगै सकिन्छ । पतिविहीन स्त्री भनेको जरा काटिएको रुख जस्तै हो, जसले न छाया दिन्छ न फल । के तिमी उनलाई यो समाजको तिरस्कार र विधवाको नारकीय जीवन बाँच्न छोडिदिन चाहन्छौ ?विष्णु : तर बाजे, के बाँच्ने अधिकार शास्त्रले दिएको छैन र ? सहमरण नै अन्तिम सत्य हो र ?

जगन्नाथ : (कडा स्वरमा) विष्णु ! तिमी शास्त्र सिकाउँछौ मलाई ? “पतिव्रता नारीले पतिको चितामा आफूलाई होमिन् भने उनी र उनका तीनै कुलका पितृहरूले स्वर्गमा वास पाउँछन्” भनी अग्नि पुराणमा लेखिएको छ । यो कुलको शुद्धता र विश्वमित्रको मोक्षको एउटै बाटो हो— पार्वतीको सतीगमन !

गोविन्द : तर बाजे, भर्खरै फुल्न लागेको फूललाई आगोमा झोस्नु कुन धर्म हो र ? गाउँलेहरू कानेखुसी गर्दैछन्, यो त अधर्म भयो भन्दैछन् ।

जगन्नाथ : (कड्किँदै) चुप लाग ! तिमीहरू जस्ता अल्पज्ञानीले धर्म र अधर्मको परिभाषा बुझ्दैनौ । जुन आगोले पाप पखाल्छ, त्यो अधर्म कसरी हुन्छ ? यो त पवित्र अग्नि हो । यसले पार्वतीलाई खरानी मात्र बनाउँदैन, उनलाई देवी बनाउँछ ।

गोविन्द : (दुबिधामा) तर बाजे, गाउँमा कुरा काट्नेहरूले भन्छन्— यो त जिउँदै जलाउने प्रथा भयो । के यसले पाप लाग्दैन र ?

जगन्नाथ : (व्यङ्ग्यात्मक हाँसो हाँस्दै) पाप ? पाप त तब लाग्छ जब धर्मको मर्यादा तोडिन्छ । हेर ती दाउराहरू, ती केवल काठ होइनन्, ती त स्वर्ग जाने सिँढी हुन् । पार्वतीले आज आफूलाई जलाउने होइन, आफूलाई अमर बनाउने हो । उनी ‘सती माता’ बन्नेछिन् । उनको नामले यो गाउँ पुजिनेछ । के तिमीहरू यो सौभाग्यबाट उनलाई वञ्चित गर्न चाहन्छौ ? भीडका केही मानिसहरू : (जोशमा आउँदै) होइन ! धर्मको जय होस् ! सती माताको जय होस् !

हरि : (निराश हुँदै) तर उनले मान्छिन् त ? उनको सहमति बिना…

जगन्नाथ : (बीचैमा कुरा काट्दै) धर्ममा सहमतिको कुरा हुँदैन हरि, समर्पणको कुरा हुन्छ । उनलाई थाहा छ, उनको अस्तित्व विश्वमित्रसँगै सकियो । जाऔं, उनलाई स्नान गराएर, रातो वस्त्र पहिर्‍याएर यहाँ ल्याउने प्रबन्ध गर । शंख फुक्नू, ढोल बजाउनू ! यो विलाप गर्ने समय होइन, यो त एउटा उत्सव हो— एउटा नारी ‘सती’ बन्ने महान उत्सव ! (भीडमा रहेका केही मानिसहरू “सती माता की जय !” को नारा लगाउन थाल्छन् । ढोल र शंखको आवाज चर्को हुँदै जान्छ । जगन्नाथले चितामा घिउ छर्कन थाल्छन् । मञ्चमा तनावपूर्ण वातावरण सिर्जना हुन्छ ।)

जगन्नाथ : (चितालाई संकेत गर्दै) तयार पार चिता ! आज मर्स्याङ्दीको पानीले मात्र होइन, सतीको तेजले यो घाट पवित्र हुनेछ ।(नेपथ्यबाट पार्वतीको रोएको र चिच्याएको आवाज सुनिन्छ । सबैको ध्यान त्यता जान्छ । नेपथ्यबाट करुण रुवाइ र ढोलको आवाज एकैसाथ सुनिन्छ । दुईजना बलिया महिलाहरूले पार्वतीलाई पाखुरामा समातेर घिसार्दै मञ्चको बीचमा ल्याउँछन् । पार्वतीको अवस्था अस्तव्यस्त छ— कपाल फिँजारिएको, सेतो लुगामा रक्ताम्मे हात (चुरा फुटाउँदा लागेको चोट), र अनुहारभरि आँसु र त्रास ।)

पार्वती : (भुइँमा थच्चिँदै, चिच्याएर) छोडिदेऊ मलाई ! मेरो हात नपक्र ! ओइ बजै, तिमी त मेरै नाताकी थियौ नि, तिमीलाई ममाथि अलिकति पनि दया लागेन ? मलाई कहाँ लैजाँदैछौ ?

महिला १ : (नमिठो स्वरमा) चुप लाग् नानी ! यो रुने समय होइन । तैँले त हाँस्दै जानुपर्छ । तेरो भाग्य चम्किँदैछ, तँ त सती माता बन्दैछिस ।

पार्वती : (हताश हुँदै) मलाई सती बन्नु छैन ! मलाई माता बन्नु छैन ! मलाई त केवल छोरी बनेर, मान्छे बनेर बाँच्नु छ । म किन जलूँ ? विश्वमित्रको मुटु धडकन छोड्यो भन्दैमा, मेरो मुटुमा चक्कु किन रोप्छौ ? मलाई बचाऊ ! कोही त बोल !

महिला २ : (पार्वतीलाई झपार्दै) धेरै नकरा ! पतिको चितामा सती जानु भनेको सात जन्मको साथ सुनिश्चित गर्नु हो । अलि कति पीडा होला, तर त्यसपछिको सुख अनन्त छ ।

पार्वती : (चिच्याउँदै) सात जन्म ? मलाई यो एक जन्म त बाँच्न दिइएन, अर्को जन्मको लोभ देखाएर मलाई आगोमा नधकेल ! यो धर्म होइन, यो त अधर्मको आगो हो जसमा तिमीहरूले मलाई झोस्दैछौ ।

जगन्नाथ : (नजिक आएर, शान्त तर कठोर स्वरमा) पार्वती ! यो स्त्री-मोह त्याग । यो संसार एउटा माया हो । तिम्रो पति उता स्वर्गको द्वारमा तिमीलाई कुरेर बसेका छन् । यदि तिमी आज पछि हट्यौ भने, उनको आत्माले अनन्तकालसम्म दुःख पाउनेछ । के तिमी आफ्नै पतिको शत्रु बन्न चाहन्छौ ?

पार्वती : (जगन्नाथको आँखामा हेर्दै) पुरोहित बाजे, यदि उहाँले मलाई माया गर्नुहुन्थ्यो भने, उहाँले मलाई यसरी आगोमा जलेको देख्न चाहनुहुन्थ्यो होला र ? कुन पतिले आफ्नी पत्नीलाई जिउँदै आगोमा पोलेको हेर्न सक्छ ? यो तपाईंको शास्त्रको कुरा होइन, यो तपाईंहरूको क्रूरता हो ! यो त हत्या हो, पुरोहित बाजे, यो हत्या हो !

जगन्नाथ : (क्रुद्ध हुँदै) मुख सम्हाल ! शास्त्रलाई चुनौती दिने साहस नगर । तँ एउटी सामान्य स्त्री, जसको अस्तित्व पतिको पाउमा सकिन्छ, तैँले हामीलाई धर्म सिकाउने ? (मलामीतिर फर्केर) के हेरेर बसेका छौ ? उनलाई चिताको नजिक लैजाऊ !

गोविन्द : (अलि हच्किँदै) आमा, हामी त गाउँका मान्छे । शास्त्रको उल्लंघन भयो भने देउता रिसाउँछन्, खडेरी पर्छ, महामारी फैलिन्छ । हजुरले बलिदान नदिए हाम्रो सर्वनाश हुन्छ । हामीलाई माफ गर्नुस्, तर हजुर जानैपर्छ ।

पार्वती : (हाँस्दै, पागलजस्तै भएर) सर्वनाश ? एउटी नारीलाई जलाएर तिम्रो गाउँको भलो हुन्छ ? एउटी निर्दोषको चित्कारले तिम्रो कुल शुद्ध हुन्छ ? गोविन्द दाइ, तपाईंको घरमा पनि त छोरी छिन् । भोलि उनको पनि यस्तै अवस्था भयो भने के तपाईं यसरी नै मुकदर्शक बन्नुहुन्छ ?

महिला २ : (पार्वतीलाई झड्का दिँदै) धेरै नबोल ! तेरो बुद्धि भ्रष्ट भयो । यसलाई समातेर चितामा राख !(महिलाहरू र केही मलामीहरू मिलेर पार्वतीलाई जबर्जस्ती चितातिर धकेल्छन् । पार्वतीले प्रतिरोध गर्छिन्, उनी भुइँमा लड्छिन्, फेरि उठाइन्छ ।)

पार्वती : (आकाशतिर हेर्दै) हे भगवान् ! यदि तैँले मलाई जन्म दिएकै जल्नका लागि होस् भने, यो संसारमा अब कहिल्यै कुनै नारीलाई जन्म नदेऊ ! मलाई छोडिदेऊ… मलाई बाँच्न देऊ !

जगन्नाथ : (ठूलो स्वरमा) ढोल बजाऊ ! शंख फुक्नू ! यिनको कुतर्क कसैले सुन्नु हुँदैन । मन्त्र सुरु गर ! ‘सती माता की जय’ भन ! (ढोल, शंख र करतालको आवाज यति चर्को हुन्छ कि पार्वतीको चिच्याहट दबिन्छ । उनलाई चिताको वरिपरि घुमाउन थालिन्छ । वातावरण डरलाग्दो र तनावपूर्ण हुन्छ । पार्वतीका हातहरू बाँध्न खोजिन्छ ।)

पार्वती : (अन्तिम बल लगाएर) होइन… होइन… ! (सूर्यास्तको रातो उज्यालो मञ्चमा फैलिएको छ । जब मलामीहरू र महिलाहरूले पार्वतीलाई चिताको काठसँग बाँध्नका लागि डोरी निकाल्छन्, नेपथ्यबाट एउटा शक्तिशाली आवाज सुनिन्छ— “खबरदार !” । भीडलाई धक्का दिँदै मधुसूदन मञ्चको बीचमा आइपुग्छ । उसको हातमा एउटा दरिलो लठ्ठी छ, शरीरमा पसिना छ र आँखामा विद्रोहको ज्वाला छ । सबैजना अक्क न बक्क परेर उसलाई हेर्छन् । ढोल र शंख एक्कासि रोकिन्छन् । सन्नाटा छाउँछ ।)

मधुसूदन : (गर्जदै) रोक यो पाखण्ड ! यो चितामा आगो लगाउनु अघि मेरो प्रश्नको उत्तर देऊ । यो कुन युगको न्याय हो, जहाँ एउटा लासको शान्तिका लागि अर्को जीवित प्राणको आहुति दिइन्छ ?

जगन्नाथ : (क्रोधले काँप्दै) को हौ तिमी बालक ? कुन कुलको कुलंगार हौ तिमी ? पितृहरूको तर्पण भइरहेको यो पवित्र घाटमा बाधा पुर्‍याउने तिम्रो कत्रो हिम्मत ? यो शास्त्रको मर्यादा हो, यहाँ तर्क चल्दैन !

मधुसूदन : (शान्त तर दृढ स्वरमा) शास्त्रको मर्यादा कि तपाईंको स्वार्थको अखडा, पुरोहित ज्यू ? एउटा मान्छेले अर्को मान्छेलाई आगोमा झोस्नु कुनै पनि अर्थमा ‘पवित्र’ हुन सक्दैन । यो चितामा धर्मको ज्योति होइन, मानवताको अन्धकार बलिरहेको छ । पार्वती दिदी वस्तु होइनन्, उनी यो समाजको आधा हिस्सा हुन् ।

जगन्नाथ : (हाँस्दै) आधा हिस्सा ? नारीको स्थान पतिको छायामा हुन्छ । पति नै नरहेपछि यो छायाको के अर्थ ? यो सती प्रथा हाम्रो परम्परा हो, हाम्रो पहिचान हो । यो रोक्ने तिमी को हौ ?

मधुसूदन : पहिचान ? के मरेको लाससँग जिउँदो मान्छे जलाउनु हाम्रो सभ्यता हो ? पुरोहित ज्यू, तपाईंका यी पुराना पुस्तकहरूले मानवताभन्दा माथि कर्मकाण्डलाई राखेका छन् भने ती पुस्तकहरू आजै जलाइदिए हुन्छ । यो “अधर्मको आगो” हो, जसले समाजको नैतिकतालाई डढाइरहेको छ ।

मधुसूदन : म यस धर्तीको छोरो हुँ । म त्यो चेतना हुँ जसले अन्याय सहेर बस्न जान्दैन । तपाईं पहिचानको कुरा गर्नुहुन्छ ? के एउटी नारीलाई जिउँदै पोल्नु हाम्रो पहिचान हो ? के मर्स्याङ्दीको पानीले यी अबोध नारीका आँसु पखाल्न सक्छ ? (भीडतिर फर्केर) हेर्नुहोस् त यी दिदीलाई, के यिनको आँखामा तपाईंहरूले देउता देख्नुभएको छ कि मृत्युको त्रास ?

हरि : (डराउँदै) तर मधुसूदन, यदि पार्वती सती नगए यो गाउँमा अनिष्ट हुन्छ रे । पुरोहित बाजेले भन्नुभएको छ— पितृहरूले सराप्छन् ।

मधुसूदन : (हरिको काँधमा हात राख्दै) हरि दाइ, पितृहरू त्यति निर्दयी हुँदैनन् जसले आफ्नै बुहारीको चित्कारमा सुख पाऊन् । यदि विधवा हुनु पाप हो भने, म सोध्छु— विधुर हुनु किन उत्सव हुन्छ ? जब पुरुषको श्रीमती मर्छ, उसले अर्को बिहेको भोज खुवाउँछ । तर जब नारीको पति मर्छ, उसलाई किन आगोको रापमा पठाइन्छ ? के स्वर्ग जाने बाटो नारीका लागि मात्र यति कठिन छ ?

जगन्नाथ : (लठ्ठी भुइँमा बजार्दै) पाखण्डी ! तिमीलाई नरकको कडा सजाय हुनेछ । तिमीले समाजको नियम भत्काउँदै छौ । सती माताको अपमान गर्दै छौ !

मधुसूदन : (उग्र स्वरमा) यदि नारीलाई जलाएर मात्र धर्म जोगिन्छ भने, मलाई त्यस्तो धर्मको नास भएको हेर्नु छ ! यदि समाजको नियम यति क्रूर छ भने, मलाई त्यो नियम भत्काउनु छ । पुरोहित ज्यू, तपाईंका यी पुराना पाण्डुलिपिहरूमा लेखिएका मन्त्रले भन्दा, यिनको एउटा थोपा आँसुले यो समाजलाई बढी पोल्नेछ ।

पार्वती : (मधुसूदनको कुरा सुनेर अलिकति हिम्मत बटुल्दै) भाइ… मलाई बचाऊ । म अपराधी होइन, म बाँच्न चाहन्छु । मलाई यो आगोदेखि डर लाग्छ !

मधुसूदन : (पार्वतीको अगाडि उभिएर, भीडतिर लठ्ठी तेर्स्याउँदै) डराउनु पर्दैन दिदी । आज यो चितामा तपाईं होइन, यो समाजको अन्धविश्वास जल्नेछ । (मलामीहरूलाई) पछि हट्नुस् सबैजना ! जसले धर्मको नाममा हत्या गर्न खोज्छ, उसले पहिले मसँग सामना गरोस् ।

विष्णु : (भीडबाट अलि प्रभावित भएर) मधुसूदनको कुरामा दम छ । हामी किन यति कठोर भएका ?

जगन्नाथ : (विष्णुलाई हकार्दै) तिमी पनि यसको बहकाउमा लाग्यौ ? यो त विद्रोही हो, यसले हाम्रो संस्कार नास्न आएको हो !

मधुसूदन : संस्कार त रक्षा गर्ने चिज हो पुरोहित ज्यू, हत्या गर्ने हतियार होइन । आज यहाँ कोही पनि सती जाने छैन । यो घाटले आज नयाँ इतिहास लेख्नेछ ।(मधुसूदन र जगन्नाथबीच आँखाको जुधाइ हुन्छ । भीडमा हलचल मच्चिन्छ । कसैले मधुसूदनको समर्थन गर्छन् भने कोही पुरोहितको डरले डराउँछन् । पार्वतीको अनुहारमा पहिलो पटक आशाको किरण देखिन्छ ।) (तनाव उत्कर्षमा छ । मधुसूदन पार्वतीको अगाडि ढाल बनेर उभिएको छ । जगन्नाथ रिसले चुर छन् । मलामीहरू दुई भागमा विभाजित देखिन्छन् । केहीको हातमा अझै शंख र ढोल छ, तर तिनीहरू बजाउन हिचकिचाइरहेका छन् ।)

जगन्नाथ : (काँपेको स्वरमा) अधर्म भयो ! अनर्थ भयो ! एउटा बरालिएको केटोको पछि लागेर तिमीहरू आफ्नो कुल धर्म त्याग्दै छौ ? हरि ! विष्णु ! तिमीहरू पनि मौन बस्ने ? यो कुलको पवित्रता आज यो बागमतीको बालुवामा मिल्दैछ !

विष्णु : बाजे, पवित्रता त मनमा हुन्छ, खरानीमा होइन । हामीले आजसम्म धर्मको नाममा कति अधर्म गर्‍यौँ, त्यसको लेखाजोखा कसले गर्ने ?

जगन्नाथ : (बहुलाए झैं गर्दै) शास्त्र बोल्छ ! देउता बोल्छन् ! तिमीहरूलाई सराप लाग्नेछ !

हरि : (गम्भीर हुँदै एक कदम अगाडि बढ्छ) होइन पुरोहित बाजे, आजसम्म हामी मौन बसेकै हुनाले यो मर्स्याङ्दीको किनार कति नारीको चित्कारले रोएको होला ? मधुसूदनले हाम्रो आँखा खोलिदिएको छ । धर्मले त जीवन रक्षा गर्नुपर्ने हो, तर यहाँ त धर्मकै नाममा चिता दन्काइँदैछ ।

विष्णु : (दृढताका साथ) हो बाजे, मैले आफ्नै दिदीलाई सती गएको देखेको थिएँ । उनको त्यो अन्तिम चित्कारले मलाई आज पनि निदाउन दिँदैन । हामी कतिन्जेल यो डरको खेती गरिरहने ? एउटी निर्दोष नारीलाई आगोमा झोसेर कुन स्वर्ग पाइन्छ ? मलाई यस्तो स्वर्ग चाहिँदैन !

जगन्नाथ : (चिच्याउँदै) तिमीहरू सबै पापी हौ ! यदि पार्वती आज नजले यो गाउँमा अनिकाल लाग्नेछ, महामारी फैलिनेछ ! देवलोक रिसाउनेछ ! के तिमीहरू पूरा समाजको विनाश चाहन्छौ ?

मधुसूदन : (हाँस्दै) पुरोहित ज्यू, देवलोक र देवतालाई यति कमजोर नसम्झिनुस् । के ती सृष्टि कर्ता आफ्नै सिर्जनालाई आगोमा डढेको हेरेर खुसी हुन्छन् होला ? वास्तविक अशुद्धता त तपाईंको यो संकुचित सोचमा छ, जसले नारीलाई मान्छे होइन, केवल पतिको सम्पत्ति ठान्छ । अशुद्ध त त्यो मन हो, जसले अर्काको पीडामा मन्त्र जपेर आनन्द लिन्छ ।

पार्वती : (बिस्तारै आफ्नो हातका डोरीहरू आफैँ फुकाल्दै, दृढ स्वरमा) अब बस गर्नुहोस् ! (सबै शान्त हुन्छन्) आजसम्म म डराएकी थिएँ, तर अब छैन । पुरोहित बाजे, मेरो पतिको मृत्यु मेरो वशमा थिएन, तर मेरो जीवन मेरो वशमा छ । म विधवा हुँला, तर म अपराधी होइन । म किन जलूँ ? कसका लागि जलूँ ? यदि मेरो जीवनले समाजलाई अपवित्र बनाउँछ भने, त्यो समाज नै अपवित्र हो, म होइन !

जगन्नाथ : (अन्तिम अस्त्र प्रहार गर्दै) यो स्त्रीको अहंकार हो ! यो विनासकाले विपरीत बुद्धि हो !

मधुसूदन : (चितातिर फर्केर, काठका मुढाहरू र बाँसका टेकाहरू भुइँमा पछार्दै) यो अहंकार होइन बाजे, यो त अस्तित्वको लडाइँ हो । (उसले चिता छिन्नभिन्न पारिदिन्छ) हेर्नुहोस्, यो चिता अब ढल्यो ! जसरी यो चिता ढल्यो, त्यसरी नै अब यो कुसंस्कार पनि ढल्नेछ । (मधुसूदनले एउटा राँको बाल्छ र छिन्नभिन्न पारिएको चिताको काठ र त्यहाँ राखिएका पुराना शास्त्रीय कर्मकाण्डका प्रतीकहरूमा आगो लगाइदिन्छ । तर चितामा कोही छैन ।)

मधुसूदन : आज यो चितामा कुनै नारीको शरीर जल्ने छैन । आज यहाँ जल्नेछ त केवल तपाईंहरूको अन्धविश्वास, तपाईंहरूको डर र तपाईंहरूको अन्यायपूर्ण परम्परा ! यो हो “अधर्मको आगो” जसले कुप्रथालाई जलाएर खरानी बनाउनेछ । भीड : (एकै स्वरमा, गर्जनका साथ)सती प्रथाको अन्त्य होस् !नारीलाई मान्छे जस्तै बाँच्न दिइयोस् !अन्धविश्वास मुर्दावाद ! मानवता जिन्दाबाद !

पार्वती : (आगोको प्रकाशमा चम्किलो अनुहार बनाउँदै) आज मलाई नयाँ जन्म मिलेको छ । यो आगोले मेरो डरलाई भष्म गरिदिएको छ । अब म मर्नका लागि होइन, अरूलाई बचाउनका लागि बाँच्नेछु । नारीलाई आगोमा होइन, अवसरमा फुल्न दिनुहोस् । धर्म भनेको मार्नु होइन, बचाउनु हो ।

हरि र विष्णु : (नारा लगाउँदै) धर्मभन्दा ठूलो जीवन हो ! परम्पराभन्दा ठूलो मानवता हो !(मञ्चको पृष्ठभूमिमा ‘सती प्रथा अन्त्यको’ उद्घोषका साथै एक सामूहिक गान गुञ्जन्छ ।) समूह गान :हाम्रो एक आवाजले अब युग बदल्छ,अन्यायको यो जालो अब डढेर बल्छ । नारीको आँसुमा होइन, हाँसोमा धर्म छ,मान्छेले मान्छेलाई माया गर्नु नै परम कर्म छ । (मञ्चमा रातो र सुनौलो प्रकाश फैलिन्छ । पार्वती र मधुसूदन एकै ठाउँमा उभिन्छन् । जगन्नाथ एक्लै कुनामा पराजित मुद्रामा देखिन्छन् । बिस्तारै पर्दा झर्छ ।)

तनहुँ । १ साउन २०८३



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button