प्रहार समाचार । काठमाडौं, १ साउन २०८३ शुक्रबार । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतप्रति कडा आपत्ति जनाएको छ। महिला शिक्षकलाई लक्षित गर्दै अमर्यादित शब्द र भाव प्रस्तुत गरिएको भन्दै महासङ्घले उक्त गीत तत्काल प्रसारणबाट हटाउन तथा चलचित्रमा समेत प्रयोग नगर्न निर्माण पक्षसँग माग गरेको छ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै गीतमा प्रयोग गरिएका शब्द, प्रस्तुति र भावले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर आँच पुर्याएको बताएका छन्। शिक्षकको सामाजिक प्रतिष्ठामा नकारात्मक असर पुग्ने सामग्री कुनै पनि हालतमा स्वीकार्य नहुने महासङ्घको स्पष्ट धारणा छ।महासङ्घले सम्बन्धित निर्माता, निर्देशक तथा कलाकारलाई तत्काल विवादित गीत हटाई जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ।

शिक्षण पेसाको सम्मानमा आँच पुग्ने कुनै पनि सामग्रीको प्रसारण वा प्रदर्शन नगर्न चेतावनी दिँदै यस विषयमा संवेदनशील बन्न निर्माण पक्षलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा विवादित गीतलाई निरन्तरता दिएर कुनै पनि असहज अवस्था वा अप्रिय परिस्थिति सिर्जना भए त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी समेत दिइएको छ। महासङ्घले शिक्षक समुदायको मर्यादा र सम्मानमा चोट पुग्ने अभिव्यक्ति तथा सामग्रीप्रति आफ्नो कडा असहमति कायम रहने स्पष्ट गरेको छ।















