हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तीजको दर रोकेर तनहुँको बन्दीपुरका महिलाहरुले गरे बाढीपीडितलाई सहयोग

प्रहार समाचार । तनहुँ, १५ भदौ २०८३ सोमबार । बन्दीपुर । चाडपर्वमा रमाइलो गर्ने खर्च कटाएर विपद्मा परेका नागरिकको उद्धार र राहतमा सहयोग गर्ने अभियानमा बन्दीपुरको शान्ति नमुना समूह पनि जोडिएको छ। बन्दीपुर गाउँपालिका–१ बाह्रबिसे, उपल्लोफाँटस्थित समूहले तीजको दर खाने कार्यक्रम स्थगित गरी रसुवा बाढीपीडितका लागि ४६ हजार ७ सय ५६ रुपैयाँ सहयोग गरेको हो।

समूहले दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष दिपा पन्थले जानकारी दिइन्। उनका अनुसार विपद्का बेला आफ्नै खुसी र मनोरञ्जनभन्दा पीडित नागरिकको जीवनरक्षा तथा राहतलाई प्राथमिकता दिनुपर्छ भन्ने भावनाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।बाढीबाट ठूलो जनधनको क्षति व्यहोरेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले समूहका सदस्यहरूबीचको सहमतिमा रकम सहयोग गरिएको पन्थले बताइन्।

उनले चाडपर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई कटौती गरेर विपद्मा परेकालाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएको उल्लेख गरिन्।तीजको दर कार्यक्रम स्थगित गरेर राहत कोषमा रकम जम्मा गर्ने समूहको निर्णयले विपद्का बेला उत्सवभन्दा मानवता ठूलो हुने सन्देश दिएको छ। शान्ति नमुना समूहको यो कदमले स्थानीयस्तरमा चाडपर्वका खर्चलाई विपद् राहततर्फ मोडेर पीडितलाई सहयोग गर्ने संस्कार विकास गर्नसमेत प्रेरणा दिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button