प्रहार समाचार । तनहुँ, ३२ असार २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिका–२, दमौलीस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा पनि शतप्रतिशत ऋण असुली गर्दै उत्कृष्ट वित्तीय अनुशासन कायम राखेको जनाएको छ। वि.सं. २०७७ मा स्थापना भएको सहकारीको कुल पूँजी ६ करोड रुपैयाँ पुगेको छ भने चुक्ता पूँजी २ करोड र ऋण लगानी ४ करोड रुपैयाँ रहेको छ।

संस्थाबाट हाल १ सय ७८ जना ऋणी सदस्य लाभान्वित भइरहेका छन्। ऋण लगानी उपसमितिका संयोजक सुरेश अधिकारीका अनुसार सदस्यहरूको आवश्यकता र क्षमताअनुसार विभिन्न प्रकारका कर्जा सेवा उपलब्ध गराउँदै सहकारीले विश्वासिलो वित्तीय संस्था रूपमा पहिचान बनाएको छ।सहकारीले व्यापारिक, घर, शैक्षिक, कृषि, वैदेशिक रोजगार, मुद्दती निक्षेप धितो, महिला उद्यमी तथा व्यक्तिगत कर्जा लगायतका सेवा सञ्चालन गर्दै आएको छ। संस्थामा सात जना महिला कर्मचारी कार्यरत रहेका छन्।
प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै क्लाउड प्रणालीमार्फत मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, फोन–पे, खल्ती सेवा तथा बजार प्रतिनिधिमार्फत ट्याब प्रयोग गरी बचत सङ्कलन जस्ता डिजिटल सेवा सञ्चालन गरिएकाले सदस्यहरूले छिटो, सुरक्षित र सहज सेवा प्राप्त गरिरहेको सहकारीले जनाएको छ। संस्थाका अध्यक्ष विकल्प श्रेष्ठले डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहलाई अझ प्रभावकारी र सदस्यमैत्री बनाएको बताए। संस्थाले हासिल गरेको उपलब्धि सक्षम व्यवस्थापन, जिम्मेवार सदस्य तथा कर्मचारीहरूको समर्पण र सहकार्यको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रविधिमा आधारित सेवा विस्तारलाई निरन्तरता दिइने उनले बताए। लेखा समितिका संयोजक अमर थापाका अनुसार स्थापनाकालदेखि हालसम्म निरन्तर शतप्रतिशत ऋण असुली कायम रहनु संस्थाको सबैभन्दा ठूलो उपलब्धि हो।
संस्थाकी व्यवस्थापक निशा भण्डारीले आगामी दिनमा अझ पारदर्शी, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। सहकारीले सदस्य, कर्मचारी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमिति तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नीति, विधि र प्रविधिलाई आत्मसात् गरी सदस्य हित र वित्तीय सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जनाएको छ। साथै, स्वास्थ्य सेवा क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्यले अस्पताल सञ्चालनको तयारी अघि बढाइएको जानकारी दिँदै उद्यमशील बचत तथा ऋण सहकारीले तनहुँमा अनुकरणीय सहकारी संस्थाको रूपमा आफ्नो पहिचान अझ मजबुत बनाएको जनाएको छ।















