लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीमनोरञ्जन

आज देशभर साउने सङ्क्रान्ति मनाइँदै, दक्षिणायन सुरु : स्नान, दानदेखि शिवआराधनासम्म धार्मिक उल्लास

प्रहार समाचार । काठमाडौँ, १ साउन २०८३ शुक्रबार । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर धार्मिक आस्था, स्नान, दान तथा पूजाआजाका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गरेसँगै आजदेखि दक्षिणायन सुरु भएको छ।

वैदिक सनातन परम्पराअनुसार माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा रहँदै आएको छ। असारभरि खेतीपातीमा व्यस्त रहने नेपाली समाजमा साउने सङ्क्रान्तिलाई स्वास्थ्य र प्रकृतिसँग जोडिएको पर्वका रूपमा पनि लिने गरिन्छ। कृषिकर्मका क्रममा हिलोमैलोका कारण देखिन सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ आज “लुतो फाल्ने” परम्परा निभाइन्छ। संस्कृति विदका अनुसार यो परम्परा स्वास्थ्य संरक्षणसँग समेत जोडिएको सांस्कृतिक अभ्यास हो। परम्पराअनुसार भलायो, कुकरडाइनो, कुरोलो, कर्कलो, लुतेझार, पानीअमला, डोल्टे कागती, जोल्टे अम्बा, तिते पातीको डाँठजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ। लुतो फाल्ने क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, बन्दुक पड्काउने, घण्ट बजाउने तथा घरको ढोका बन्द गर्ने परम्परा पनि विभिन्न समुदायमा अहिलेसम्म कायम रहेको छ।

साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिनाका रूपमा मानिने भएकाले आजदेखि देशभरका शिवालयमा भक्तजनको चहलपहल बढेको छ। विशेषगरी पशुपतिनाथ मन्दिरसहित प्रमुख शिवालयमा दर्शन र पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ भने महिलाले हरियो चुरा र हरिया वस्त्र धारण गरी प्रकृतिप्रतिको सम्मान र धार्मिक आस्थाको प्रतीकस्वरूप साउने परम्परालाई निरन्तरता दिएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button