• विजय अधिकारी ( प्रहर संवाददाता ) लमजुङ, ३१ असार २०८३ बुधबार । लमजुङका अधिकांश खानेपानी योजना तथा उपभोक्ता समितिबाट वितरण भइरहेको पिउने पानीमा दिसाजन्य सूक्ष्मजीव ई–कोलाई भेटिएपछि जिल्लाको खानेपानीको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा गरेको पिउने पानी गुणस्तर परीक्षणमा मुहानदेखि उपभोक्ताको धारासम्म पुगेको पानीमा समेत ई–कोलाईको मात्रा १०० वा सोभन्दा बढी फेला परेको हो।

प्रतिवेदनले जिल्लामा वितरण भइरहेको अधिकांश पिउने पानी मानव स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको स्पष्ट संकेत गरेको छ। कार्यालयका अनुसार बेंसीसहर नगरपालिकामा परीक्षण गरिएका ३१ नमुनामध्ये २४, सुन्दरबजार नगरपालिकामा २८ मध्ये २०, मध्यनेपाल नगरपालिकामा १५ मध्ये ११ र राइनास नगरपालिकामा १० मध्ये ५ नमुनामा ई–कोलाई भेटिएको छ।

त्यसैगरी मर्स्याङ्दी गाउँपालिकामा ११ मध्ये ९, दोर्दी गाउँपालिकामा ११ मध्ये ८, दूधपोखरी गाउँपालिकामा परीक्षण गरिएका ८ वटै तथा क्व्होलासोथार गाउँपालिकामा १५ मध्ये १३ नमुनामा ई–कोलाई पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार मुहान, धारा तथा अन्य खानेपानी स्रोतबाट संकलित १२९ नमुनामध्ये ९८ वटा अर्थात् ७६ प्रतिशतमा ई–कोलाई भेटिएको छ भने ३१ वटा (२४ प्रतिशत) नमुना मात्रै सुरक्षित पाइएको छ।

अझ चिन्ताजनक पक्ष भने उपभोक्ताको धारासम्म पुग्दा पानीको अवस्था झन् बिग्रिएको देखिएको हो। धाराबाट संकलित ८६ नमुनामध्ये ७० वटा अर्थात् ८१ प्रतिशतमा ई–कोलाई भेटिएको छ भने १६ वटा (१९ प्रतिशत) नमुना मात्रै सुरक्षित रहेको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनले मुहानको तुलनामा वितरण प्रणालीमै पानी थप दूषित भइरहेको अवस्था औँल्याउँदै खानेपानी योजनाको संरक्षण, पाइपलाइन व्यवस्थापन, नियमित क्लोरिनेशन तथा गुणस्तर परीक्षणलाई तत्काल प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। अन्यथा दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइडलगायत पानीजन्य रोग फैलिने जोखिम उच्च रहने भन्दै सम्बन्धित निकायलाई तत्काल सुधारात्मक कदम चाल्नुपर्ने दबाब बढेको छ।















