हेडलाईनसमाचारगण्डकी

सुनको लोभमा मिल्ने साथीको हत्या : लुटिएको सुन किन्ने व्यवसायी पनि प्रहरी नियन्त्रणमा

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, ३१ असार २०८३ बुधबार । लमजुङको बेँसीशहर नगरपालिका–१ स्थित पेन्टिङ डाँडामाथिको वनमा मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या उनकै निकटका साथीले हत्या गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै सो कुरा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोहोराको हत्या दोर्दी गाउँपालिका–१ ढोके घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएका विजय लामिछानेले गरेका थिए । लामिछानेले सुनको लोभमा आफ्नै साथीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार बोहोरा गत असार २२ गतेदेखि सम्पर्कविहीन भएका थिए भने असार २५ गते बिहान पेन्टिङ डाँडामाथिको वनमा उनको शव सडिगलेको अवस्थामा फेला परेको थियो। आफन्तको किटानी जाहेरीपछि प्रहरीले सीसीटीभी फुटेज, मोबाइलको प्राविधिक विश्लेषण तथा अन्य प्रमाणका आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार अभियुक्तले प्रहरीसमक्ष दिएको बयानमा घटनाअघि हत्या गर्ने योजना नरहेको तर जङ्गलमा सँगै बसिरहेका बेला मृतकको घाँटीमा रहेको सुनको सिक्री र हातको सुनको औँठी देखेपछि लोभ जागेको स्वीकार गरेका छन्। त्यसपछि नजिकैको रुखको हाँगा भाँचेर पछाडिबाट टाउकोमा प्रहार गरेको, पहिलो प्रहारपछि बोहोरा ढलेपछि पुनः प्रहार गरी हत्या गरेको र मृतकले लगाएका सुनका गहना लुटेर घटनास्थलबाट फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बोहोरा र लामिछाने अत्यन्तै मिल्ने साथी थिए र उनीहरू अधिकांश समय सँगै बिताउने गर्दथे। प्रहरी अनुसन्धानले लुटिएका सुनका गहना चितवन लगेर बिक्री गरिएको तथ्य पनि उजागर गरेको छ। अभियुक्तले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित मौलाकालिका सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई सुन बिक्री गरेको, त्यसबापत तत्काल ४४ हजार रुपैयाँ नगद लिएको र बाँकी ६ लाख रुपैयाँ पछि लिने सहमतिमा कारोबार गरेको बयान दिएका छन्। बिलबिनाको सुन खरिद गरेको आरोपमा व्यवसायी विश्वकर्मालाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

यसैबीच, मुख्य आरोपी विजय लामिछानेमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत लमजुङले पाँच दिनको म्याद थप गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आर्थिक लाभ र सुनको लोभ नै हत्या पछाडिको मुख्य कारण देखिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button