• विजय अधिकारी ( प्रहार संवाददात ) लमजुड, २२ असार २०८३ सोमबार । लमजुङ जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप सुनिश्चितता निर्देशिका बमोजिम आवश्यक सबै प्रक्रिया पूरा गर्दै आर्थिक वर्ष २०८२/०८३ मा १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप सुनिश्चित भएपछि आइतबार बेँसीसहरमा आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख तथा समितिका सदस्य सचिव शैलेन्द्रकुमार सिंहले प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा १६ देखि २३ महिनासम्मका ४ हजार ६ सय ९९ जना बालबालिकामध्ये प्रारम्भिक सर्वेक्षणमा खोप छुट भएका चार जना बालबालिकालाई समेत बाँकी खोप पूरा गराई सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गरिएको जानकारी दिए।

उनका अनुसार हाल जिल्लामा खोप पाउनुपर्ने कुनै पनि बालबालिका छुटेका छैनन्।कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले स्वास्थ्यजस्तो संवेदनशील विषयमा सबै पक्ष गम्भीर बन्नुपर्ने उल्लेख गर्दै पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई दीगो रूपमा कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल तथा प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले राष्ट्रिय खोप कार्यक्रमलाई जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन गरेको भन्दै सम्बन्धित सबै निकायलाई धन्यवाद तथा बधाई व्यक्त गरे।कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो।


साथै सेवा अवधि पूरा गरेका २२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले आगामी दिनमा कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्दै पूर्णखोपको दिगोपना कायम राख्ने सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।जिल्लाको स्वास्थ्य तथ्याङ्कअनुसार हाल जन्मदेखि १५ महिनासम्मका १ हजार ७ सय ५६ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरिरहेका छन्। कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अहेव कमल वलीले गरेका थिए।















