प्रहार समाचार । तनहुँ,२२ असार २०८३ सोमबार । तनहुँको व्यास नगरपालिकाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगरको को २४१औँ नियमित कार्यपालिका बैठकले आज उक्त निर्णय गरेको हो ।

सम्पन्न बैठकले वडा नं. ९ देखि १४ सम्म जग्गा नापजाँच सम्पन्न भई प्रक्रिया पूरा भएका लाभग्राहीको पहिलो चरणको सूची जिल्ला भूमि समस्या समाधान समितिमा सिफारिस गर्ने निर्णय गर्दै भूमिहीनलाई लालपुर्जा वितरणको बाटो खुलाएको हो।
बैठकले व्यास नगरपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८२/०८३ देखि २०८७/०८८) को मस्यौदामाथि छलफल गरी प्राप्त सुझाव समेटेर पारित गर्ने निर्णय गरेको छ। त्यस्तै पर्यटनविद् हरि सिंह गुरुङले प्रस्तुत गरेको नगरको पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्रमा पनि सुझाव समावेश गरी अन्तिम रूप दिन निर्देशन दिइएको छ। साथै तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ आगामी असार ३१ गते बिहान ११:३० बजे व्यास–१ स्थित दरै सामुदायिक भवनमा आयोजना गर्ने निर्णय गरिएको छ। बैठकमा चालु आर्थिक वर्षको विकास प्रगतिको समीक्षा पनि गरिएको छ। नगरपालिकाले सञ्चालन गरेका ९ सय २५ योजनामध्ये ६ सय ५४ योजना सम्पन्न भइसकेका छन् भने २ सय ४८ योजना सम्झौतामा रहेका र २२ योजनाको सम्झौता हुन बाँकी रहेको जानकारी दिइयो।
हालसम्म कुल बजेटको ७६.९५ प्रतिशत आम्दानी हुँदा ६७.६५ प्रतिशत खर्च भएको विवरण बैठकमा प्रस्तुत गरिएको छ। चालुतर्फ ८७.१७ प्रतिशत र पुँजीगततर्फ ४२.७७ प्रतिशत मात्रै खर्च भएको तथ्यांकले पुँजीगत खर्च अझै सुस्त रहेको देखाएको छ। बैठकले मनसुनका कारण हुन सक्ने विपद्का घटनाप्रति उच्च सतर्कता अपनाउन वडा कार्यालय, टोल विकास संस्था तथा विपद् उपशाखालाई तत्काल सक्रिय हुन निर्देशन दिएको छ। पछिल्लो समय नगर क्षेत्रमा बढ्दो चोरीका घटनाप्रति पनि गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई चोरी नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने तथा नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिएका छन्।














