हेडलाईनसमाचारगण्डकीसाहित्यम्याग्दे

दुर्घटनापछि गम्भीर अवस्थामा तनहुँका साहित्यकार अधिकारी, स्वास्थ्यलाभका लागि संघर्ष जारी

प्रहार समाचार । तनहुँ, २२ असार २०८३ सोमबार । अवकाशप्राप्त स्वास्थ्यकर्मी, वरिष्ठ साहित्यकार तथा ‘आस्था अविचल’ साहित्यिक नामबाट परिचित चन्द्रमणि अधिकारी लामो समयदेखि रुग्ण शैय्यामा स्वास्थ्यलाभका लागि संघर्षरत रहेका छन्। गत २०८३ वैशाख ११ गते बिहान बेलचौतरास्थित जीपी अस्पतालमा उपचाररत कान्छी छोरीलाई भेटेर फर्किने क्रममा झरौटा मन्दिर नजिक निर्माणाधीन पृथ्वी राजमार्ग र सर्भिस लेनबीचको खाली भागबाट करिब पाँच मिटर तल खोल्सामा खस्दा उहाँको खुट्टा, कम्मर र ढाडमा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि अधिकारीलाई तत्काल गण्डकी अस्पताल, पोखरामा उपचारका लागि लगिएको थियो। त्यहाँ करिब ३३ दिन आईसीयूमा राखेर उपचार गरिएपछि घर फर्काइए पनि स्वास्थ्य अवस्था सामान्य हुन नसकेको पारिवारिक श्रोतले जनाएको छ । मधुमेह (सुगर) को मात्रा अत्यधिक बढ्नुका साथै शरीरमा पोटासियम र सोडियमको मात्रा अत्यन्त न्यून भएपछि उनलाई पुनः पटक–पटक पोखरा लगेर आईसीयूमा राखी उपचार गर्नुपर्ने अवस्था आएको परिवारले जनाएको छ। हाल म्याग्दे गाउँपालिका–४, छाङ्ग पिपलटार स्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका अधिकारीको अवस्था अझै जटिल रहेको बताइएको छ। अहिले सामान्य रूपमा हिँडडुल गर्न, आफै खाना खान, मानिस चिन्न, पुराना घटना सम्झन तथा छिटो प्रतिक्रिया दिनसमेत असमर्थ रहेको उनका भाइ हुतमणि अधिकारीले जानकारी दिए ।

अधिकारीले दाजुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबै शुभेच्छुकसँग प्रार्थनाको आग्रह गरेका छन्। करिब ४० वर्ष हेल्थ असिस्टेन्ट र जनस्वास्थ्य निरीक्षकका रूपमा निजामती सेवामा योगदान दिएका अधिकारी अवकाशपछि साहित्य सिर्जनामा सक्रिय रहँदै आएका थिए। शास्त्रीय छन्दमा धाराप्रवाह कविता लेख्ने अद्भुत क्षमता भएका उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्। जनकपुरको एक सार्वजनिक कार्यक्रममा २४ घण्टाभित्र “जानकी महाकाव्य” लेखेर “अभिनव व्यास” उपाधिबाट सम्मानित अधिकारी दर्जनौँ पुरस्कार तथा सम्मानबाट विभूषित हुनुका साथै म्याग्दे साहित्य समाजका संस्थापक अध्यक्ष पनि हुन्। दुर्घटनाअघि उनि “बृहत् म्याग्दे महाकाव्य” लेखनमा व्यस्त रहेका थिए। साहित्यिक क्षेत्रका सक्रिय स्रष्टा अधिकारीको अस्वस्थताले साहित्यिक वृत्त तथा शुभेच्छुकहरूलाई चिन्तित बनाएको छ। अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभेच्छा व्यक्त गरिरहेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button