• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २२ असार २०८३ सोमबार । लमजुङको क्व्होलासोथार गाउँपालिकाले दुर्गम क्षेत्रमा पशुपालन गर्दै आएका घुम्ती गोठका गोठालाको दैनिकी सहज बनाउने उद्देश्यले १५ वटा घुम्ती गोठलाई निःशुल्क सोलार सेट र त्रिपाल वितरण गरेको छ। गाउँपालिका–५ सिङ्दीका लाभग्राहीलाई गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङसहितको टोली स्वयं सिङ्दी पुगेर सामग्री हस्तान्तरण गरेको हो।

गाउँपालिकाकी उपाध्यक्ष गुरुङका अनुसार वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा घुम्ती गोठ सञ्चालन गरिरहेका सबै १५ जना निवेदकको माग सम्बोधन गर्दै सोलार सेट र त्रिपाल उपलब्ध गराइएको हो। दुर्गम क्षेत्रमा विद्युत् र आधारभूत सुविधाको अभावका कारण कठिन जीवन बिताइरहेका गोठालाको दैनिक कार्य सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्।गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले दुर्गम बस्तीका नागरिकलाई आधारभूत सुविधा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै पशुपालनलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिइएको बताए।

आवश्यकता र मागका आधारमा किसान तथा गोठालालाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै उनले उत्पादनमुखी कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह भइरहेको बताए। स्थानीयको माग र आवश्यकताअनुसार यस्ता सहयोगमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ थियो। वडा नं. ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङले भौगोलिक रूपमा विकट सिङ्दीका गोठालासम्म पुगेर निःशुल्क सोलार सेट र त्रिपाल उपलब्ध गराएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गर्दै यसले गोठालाको पेसाप्रति स्थानीय सरकारको सम्मान र संवेदनशीलता झल्काएको बताए।

वितरण कार्यक्रममा वडा सदस्य बर्तमाया गुरुङ, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। गाउँपालिकाले दुर्गम क्षेत्रका पशुपालकलाई लक्षित गरी सञ्चालन गरेको यो कार्यक्रमले गोठालाको दैनिकी सहज बनाउनका साथै स्थानीय पशुपालन व्यवसायलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।














