प्रहार समाचार । तनहुँ, २० असार २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–७ नरङ्गामा रहेको व्यास नगर समता विद्यालयमा अध्ययनरत अभिभावकविहीन, एकल अभिभावक भएका तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि हिंजो ट्र्याकसुट (पोशाक) र मोजा वितरण गरिएको छ। हाल उच्च अध्ययनका लागि बेलायत (यूके)मा रहेकी व्यास–१४ निवासी सञ्जु सुनार र उनका साथीहरूको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई आवश्यक पोशाक वितरण गरिएको हो।

कायीक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको शिक्षा रोकिन नहुने उल्लेख गर्दै समाजमा सहयोग र सहकार्यको संस्कार अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले अभिभावकविहीन, एकल अभिभावक भएका तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि व्यास नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अभिभावकत्व प्रदान गर्ने अभियानलाई निरन्तर अगाडि बढाइरहेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतीशचन्द्र न्यौपानेले शिक्षा क्षेत्रमा गरिएको सहयोग नै सबैभन्दा ठूलो सामाजिक लगानी भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यले विद्यार्थीमा आत्मविश्वास र अध्ययनप्रतिको उत्साह बढाउने विश्वास व्यक्त गरे। उनले विद्यालय परिवारका तर्फबाट सहयोग गर्ने सबै दाताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए।

यस अभियानमा सञ्जु सुनार (व्यास–१४, तनहुँ), माधव पौडेल (कुश्मा–९, पर्वत), सरोज गैरे (देवदह–५, रुपन्देही), देवराज यादव (लुम्बिनी, रुपन्देही), कपिल कार्की (गोकर्णेश्वर, काठमाडौं), मनीष पाण्डेय (देवदह–५, रुपन्देही), बिदुर राना (रुपन्देही) तथा किसान श्रेष्ठ (ज्वालामुखी–२, धादिङ) लगायतले आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक अर्जुन सुनार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालय परिवारले सञ्जु सुनारसहित सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।



















