हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकीस्वास्थ्य

तनहुँको शुक्लागण्डकी नगरमा गण्डकी प्रदेशमै पहिलोपटक रुद्राक्ष रोपण अभियान सुरु

प्रहार समाचार । तनहुँ, १४ असार २०८३ आइतबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मालागिरीस्थित ‘मालागिरी सामुदायिक वन’मा गण्डकी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा रुद्राक्ष रोपण अभियान सुरु गरिएको छ। दुई हेक्टर क्षेत्रफलमा १ हजार ७ सय रुद्राक्षका बिरुवा सार्ने अभियानको नगरप्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुमबहादुर विकले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार मालागिरी सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा गण्डकी प्रदेशमै पहिलोपटक १ हजार ७ सय रुद्राक्षका बिरुवा रोप्ने अभियान सुरु गरिएको हो। वन क्षेत्रको संरक्षणसँगै आर्थिक सम्भावना विस्तार गर्ने उद्देश्यले अभियान अघि बढाइएको उनले जानकारी दिए।

अभियानको शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले रुद्राक्ष रोपणले वन संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने उल्लेख गर्दै यस अभियानलाई दीर्घकालीन रूपमा सफल बनाउन सबै पक्षको सक्रिय सहभागितामा जोड दिए। उप प्रमुख खुमबहादुर विकले सामुदायिक वनलाई संरक्षणसँगै उत्पादन र आयमूलक गतिविधिसँग जोड्नुपर्ने उल्लेख गर्दै रुद्राक्ष खेतीले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले गण्डकी प्रदेशमै पहिलोपटक सुरु गरिएको यो अभियान सफल भए अन्य सामुदायिक वनमा समेत विस्तार गरिने उल्लेख गर्दै वन संरक्षणसँगै बहुउपयोगी प्रजातिको प्रवर्द्धनमा निरन्तर जोड दिइने बताए। वन क्षेत्रलाई हराभरा बनाउनुका साथै भविष्यमा आर्थिक लाभसमेत दिलाउने अपेक्षासहित सुरु गरिएको रुद्राक्ष रोपण अभियानलाई स्थानीयवासी तथा सरोकारवाला निकायले चासोका साथ हेरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button