हेडलाईनसमाचारगण्डकी

मध्यनेपाल नगरपालिकाको ६५ करोड ८३ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यदेखि सडक पूर्वाधारसम्म प्राथमिकता

प्रहार समाचार । लमजुड, १५ असार २०८३ सोमबार । लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड ८३ लाख ७२ हजार ६२३ रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, वडा विकास र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ। नगरसभामा प्रस्तुत बजेटमा प्रशासनिक खर्चदेखि पूर्वाधार निर्माण, स्वास्थ्य सेवा, शैक्षिक प्रोत्साहन र स्थानीय विकासका कार्यक्रमलाई समेटिएको छ।

नगरभामा प्रस्तुत बजेटअनुसार तलब, भत्ता तथा प्रशासनिक खर्चका लागि १० करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने नेपाल सरकारबाट प्राप्त हुने सशर्त चालु तथा पुँजीगत कार्यक्रम सञ्चालनका लागि ३५ करोड ४६ लाख रुपैयाँ छुट्याइएको छ। समपूरक अनुदानअन्तर्गत बाङ्गेनेटा–वडा कार्यालय सडक निर्माणका लागि संघीय सरकार र नगरपालिकाको साझेदारीमा २ करोड २६ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ, जसमा नगरपालिकाको हिस्सा १ करोड १३ लाख रुपैयाँ रहेको छ। यस्तै, प्रदेश समपूरक कार्यक्रमअन्तर्गत थप थापा गाउँ–वडा कार्यालय सडक निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।बजेटमा बाङ्गेबेँसी सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि ४० लाख, बहुप्राविधिक शिक्षालयका लागि १३ लाख तथा नगरका १० वटै वडालाई ३५/३५ लाख रुपैयाँका दरले कुल ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

स्थानीय तथा क्षेत्रगत योजना कार्यान्वयन र विपद् व्यवस्थापनका लागि १० करोड ५२ लाख ८७ हजार ६२३ रुपैयाँ छुट्याइएको छ।नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा सहयोगी कर्मचारीको पारिश्रमिक १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गर्दै त्यसका लागि १७ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्य संस्थामा सेवा करारमा कार्यरत कर्मचारीको पारिश्रमिकका लागि ३९ लाख १० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

।शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजालाई प्रोत्साहन गर्ने उद्देश्यले एसईई परीक्षामा पालिकाभर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई वार्षिक २ लाख रुपैयाँ शैक्षिक प्रोत्साहन छात्रवृत्ति प्रदान गरिने भएको छ। साथै स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि तथा उपकरण व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको नगर प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button