• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, १४ असार २०८३ आइतबार ।तीन जना रोपाहार । एक जना बाउसे । रोपाहारले छुपु छुपु हिलोमा धान रोपेका छन् । बाउसे छत्री ओढेर हिलो सम्याउँदै छन् । नझुक्किनु होला यो खेतको रोपाई भने होइन । धान रोपाई गर्न तयार पारिएको खेत भन्द कम भने छैन् । वर्षौंदेखि हिलाम्मे सडकले हैरान बनाउँदा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेपछि मध्यनेपाल नगरपालिका–१ का स्थानीयवासीले सडकमै धान रोपेर कडा विरोध जनाएका हुन् ।

बगुवा क्षेत्र हुँदै सुन्दरबजार नगरपालिका जोड्ने उक्त सडक वर्षायाम लाग्नासाथ हिलाम्मे दलदलमा परिणत हुने, सवारी साधन सञ्चालन गर्नै मुस्किल पर्ने र पैदल यात्रुले समेत सास्ती खेप्नुपर्ने अवस्था रहेकाले स्थानीय आक्रोशित बनेका हुन्।

विरोध कार्यक्रममा सहभागी अनिश घिमिरेका अनुसार सडक निर्माणको माग पटक–पटक उठाउँदा पनि सरोकारवाला पक्षले कुनै चासो नदिएपछि बाध्य भएर सडकमै धान रोपेर जनताको पीडा देखाउनुपरेको हो। लामो समयदेखि अलपत्र परेको सडकले दैनिक जीवन कष्टकर बनाएको भन्दै स्थानीयले अब पनि काम सुरु नगरे थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।





















