हेडलाईनव्याससमाचारगण्डकीविजनेस

तनहुँको दमौलीका अधिकांश होटलमा खाद्य स्वच्छताको अवस्था दयनीय, सुधार नगरे कानुनी कारबाही हुने

प्रहार समाचार । तनहुँ, १४ असार २०८३ आइतबार । तनहुँको व्यास नगरपालिकाभित्र सञ्चालित अधिकांश होटल, रेष्टुरेन्ट तथा खाजा घरमा खाद्य स्वच्छताको अवस्था अत्यन्तै दयनीय भेटिएको छ। आजदेखि सुरु गरिएको संयुक्त अनुगमन तथा होटल स्तरीकरण अभियानको पहिलो दिनमै न्यूनतम खाद्य स्वच्छता मापदण्डसमेत पालना नगरेको पाइएपछि सम्बन्धित निकायले तत्काल सुधार गर्न कडा निर्देशन दिएको छ।

निर्देशन अटेर गरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।व्यास नगरपालिकाको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीको आयोजनामा सञ्चालन भएको अभियानको क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यलगायत विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, उद्योग–वाणिज्य, होटल व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

अभियानअन्तर्गत होटल, रेष्टुरेन्ट तथा खाजा घरहरूको खाद्य स्वच्छता, सरसफाइ, भान्छा व्यवस्थापन, खाद्य भण्डारण, सेवा प्रवाह तथा उपभोक्ता सुरक्षासम्बन्धी मापदण्डका आधारमा मूल्याङ्कन गरिएको छ। मूल्याङ्कनका आधारमा सन्तोषजनक होटललाई खाद्य स्वच्छता लोगो, प्रमाणपत्र, प्रतिबद्धता फ्लेक्स, २० बुँदे खाद्य स्वच्छता मापदण्ड, स्टिकर तथा अन्य सचेतनामूलक सामग्री वितरण गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सबै होटल तथा रेष्टुरेन्ट सञ्चालकसँग लिखित प्रतिबद्धतासमेत गराएको छ। प्रतिबद्धतामा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने, खानेकुरा पूर्ण रूपमा पकाएर सुरक्षित तापक्रममा राख्ने, काँचो र पकाएको खाद्यवस्तु छुट्टाछुट्टै भण्डारण गर्ने, स्वच्छ पानी तथा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्ने, म्याद नाघेका खाद्यवस्तु बिक्री–वितरण नगर्ने, भान्छा, भण्डारण कक्ष, भोजन कक्ष, शौचालय तथा भाँडा माझ्ने स्थान सधैं सफा राख्ने, खाद्य तयारीमा संलग्न व्यक्तिको व्यक्तिगत सरसफाइ कायम गर्ने, स्वीकृत खाद्य रंग तथा खाद्य योगशील मात्र प्रयोग गर्ने, आवश्यक अभिलेख व्यवस्थित राख्ने तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेका सबै दायित्व पालना गर्ने उल्लेख गरिएको छ।

संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, व्यास नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नगर प्रहरी, क्षेत्रीय होटल संघ, होटल संघ तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई तथा नेपाल पत्रकार महासंघ तनहुँका प्रतिनिधिहरू सहभागी थिए।अनुगमनका क्रममा अधिकांश होटलमा गम्भीर कमजोरी फेला परेको टोलीले जनाएको छ। कतिपय होटलका भान्छा अत्यन्तै अस्वच्छ रहेको, फोहोर व्यवस्थापन प्रभावकारी नभएको, हात धुने उचित व्यवस्था नरहेको, खानेकुरा सुरक्षित तापक्रममा भण्डारण नगरिएको, काँचो र तयारी अवस्थामा रहेका खाद्यवस्तु एउटै स्थानमा राखिएको, प्रयोग गरिएका भाँडा तथा उपकरण पर्याप्त रूपमा सफा नगरिएको तथा खाद्य सुरक्षाका आधारभूत मापदण्डसमेत पालना नगरेको भेटिएको छ।

खाद्य निरीक्षण अधिकारी अशोक गौतमले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल सुधार गर्न निर्देशन दिएका छन्। उनले सुधार नगर्ने तथा मापदण्ड उल्लङ्घन गर्ने होटल तथा खाद्य व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम जरिवाना, कानुनी कारबाही तथा आवश्यक परे व्यवसाय सञ्चालनसमेत रोक लगाइने चेतावनी दिए।अनुगमन टोलीले सबै होटल तथा होमस्टे सञ्चालकलाई सम्बन्धित निकायमा अनिवार्य दर्ता गर्न, प्रभावकारी फोहोर तथा ढल व्यवस्थापन गर्न, सफा शौचालयको व्यवस्था मिलाउन, कीट नियन्त्रण गर्न, पर्याप्त भेन्टिलेसन कायम गर्न, सेनिटाइजर तथा तातोपानीबाट भाँडा सफा गर्न, नियमित हात धुने प्रणाली लागू गर्न, बिरामी कामदारलाई खाद्य तयारीमा संलग्न नगराउन, प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न तथा खाद्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

त्यसैगरी खाद्य पदार्थ कम्तीमा ७५ डिग्री सेल्सियस तापक्रममा पकाउने तथा पुनः तताउने, मासु, माछा र दुग्धजन्य पदार्थ ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्ने, फ्रोजन खाद्य पदार्थ माइनस १८ डिग्री सेल्सियस मा राख्ने, पकाएको खाना दुई घण्टाभित्र चिसो भण्डारणमा सार्ने तथा सकेसम्म स्टेनलेस स्टिलका भाँडा प्रयोग गर्नेलगायत २० बुँदे खाद्य स्वच्छता मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

सम्बन्धित निकायले यो अभियानलाई नियमित रूपमा निरन्तरता दिइने जनाएको छ। पुनः अनुगमनका क्रममा पनि सुधार नगर्ने होटल तथा खाद्य व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जरिवाना, कानुनी कारबाही तथा आवश्यक परे व्यवसाय सञ्चालनमा समेत रोक लगाइने स्पष्ट पारिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार अभियानको मुख्य उद्देश्य दमौलीका होटल तथा रेष्टुरेन्टहरूलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउँदै खाद्यजन्य जोखिम न्यूनीकरण गर्नुका साथै खाद्य स्वच्छता संस्कृतिको प्रभावकारी कार्यान्वयन गराउनु हो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button