प्रहार समाचार । काठमाडौं, १४ असार २०८३ आइतबार । अबको ३–४ दिन देशभर मनसुन फैलिने भएको छ । गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने देशका बाँकी क्षेत्रमा पनि आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन क्रमशः कर्णाली र सुदूरपश्चिमसम्म फैलिने जनाएको छ। तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ भने कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा पनि मौसममा खासै सुधार नआउने महाशाखाको पूर्वानुमान छ। कोशीका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा जारी रहने सम्भावना छ।

कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनीका तराई क्षेत्र तथा मधेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भारी वर्षा, चट्याङ र हुरीका कारण दैनिक जनजीवन, सडक यातायात तथा नदी–खोलामा आकस्मिक जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।





















