• विजय अधिकारी ( प्रहार संवाददाता ) । लमजुङ, १३ असार २०८३ शनिबार । लमजुङको क्व्होलासोथार गाउँपालिकाको गाउँसभाको २०औँ अधिवेशन तथा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटमाथिको छलफल घलेगाउँमा सम्पन्न भएको छ। अधिवेशनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि विस्तृत छलफल गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ।अधिवेशनका अवसरमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, कर्मचारी सेवा, राजस्व संकलन, कला–संस्कृति, विद्यार्थी तथा उपभोक्ता समितिलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने १२ जना तथा एक वडालाई सम्मान गरेको छ।

उत्कृष्ट कर्मचारीतर्फ स्वास्थ्य शाखाका मेडिकल अधिकृत डा. सागर थापा र पशु सेवा शाखाका रुपनारायण चौरसिया सम्मानित भए।शिक्षातर्फ बगुमस्थित घले उत्तरकन्या माध्यमिक विद्यालयका शिक्षक उमलबहादुर विक र वडा नं. ९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयका शिक्षक प्रकाश उपरकोटी सम्मानित भए। कृषितर्फ वडा नं. ६ पसगाउँस्थित प्रगतिशील एकीकृत कृषि फार्मका सञ्चालक होमबहादुर गुरुङ तथा वडा नं. ४ भुजुङस्थित नमुना कृषि तथा पशुपन्छी फार्मका सञ्चालक कुलबहादुर विकलाई सम्मान गरिएको छ।यसैगरी एसईई २०८२ मा गाउँपालिकाभित्र सबैभन्दा बढी ३.५४ जीपीए ल्याउने वडा नं. १ बाग्लुङपानीकी शेरप लामा, वडा नं. ३ घलेगाउँस्थित उत्तरकन्या मन्दिर शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज घले तथा आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी राजस्व संकलन गरी आन्तरिक आय वृद्धि गरेको वडा नं. ६ पसगाउँलाई ‘उत्कृष्ट राजस्व संकलन वडा’का रूपमा सम्मान गरिएको छ।कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै वडा नं. ४ भुजुङका गुरुङ फिल्म निर्देशक तथा कलाकार कमलबहादुर गुरुङ, वडा नं. ६ पसगाउँ घर भई गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा लोकसंस्कृति अनुसन्धानकर्ता गोरे गुरुङ र वडा नं. २ मालिङका कलाकार गजेन्द्र गुरुङ (जसबहादुर गुरुङ) लाई पनि सम्मान गरिएको छ।

सम्मानित व्यक्तिहरूलाई गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, वडा नं. ४ का वडाध्यक्ष नारायण गुरुङसहित जनप्रतिनिधि र कर्मचारीहरूले नगद पुरस्कार, दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए। अधिवेशनमा गाउँसभाका सदस्यहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथि विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए। छलफलपछि नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३८ करोड ९३ लाख ६२ हजार २०५ रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ। त्यसमध्ये ९ करोड ६२ लाख २७ हजार ३७० रुपैयाँ पूँजीगत र २९ करोड ३१ लाख ३४ हजार ८३५ रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
























