हेडलाईनसमाचारसाहित्यबागमती

साहित्यकार अधिकारीद्वारा लिखित ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ को लोकार्पण

प्रहार समाचार । काठमाडौं, ३० जेठ २०८३ शनिबार । साहित्यकार शोभा अधिकारीद्वारा लिखित प्रेरणामूलक कृति ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ आज राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ। साहित्य, शिक्षा, कूटनीति, कला तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सफलता, संघर्ष, आत्मविश्वास, सकारात्मक सोच र व्यक्तित्व विकासका विषयमा गहन विमर्श गरिएको थियो।

 

पुस्तकको लोकार्पण पछि बोल्दै प्रशिक्षक गुरु एल.पी. भानु शर्माले सफलताको यात्रा संघर्ष, धैर्यता, अनुशासन र निरन्तर प्रयासबाट निर्माण हुने उल्लेख गर्दै पुस्तकले पाठकलाई जीवनका विभिन्न चरणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले सकारात्मक सोच र व्यवहारिक ज्ञानमार्फत जीवनलाई सही दिशातर्फ अघि बढाउन पुस्तक उपयोगी हुने उल्लेख गरे ।

अभिनेता दयाहाङ राईले जीवनमा प्राप्त उपलब्धिहरूको पछाडि अथक परिश्रम, निरन्तर सिकाइ र धैर्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै युवापुस्तालाई आत्मविश्वासका साथ आफ्ना सपना पछ्याउन आग्रह गरे। यस्ता प्रेरणादायी कृतिहरूले नयाँ पुस्तामा सकारात्मक ऊर्जा र उत्साह जगाउने उनको भनाइ थियो।

पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै साहित्यकार डा. नवराज खतिवडाले पुस्तकले सफलता प्राप्तिका व्यवहारिक सूत्रहरूलाई सरल, प्रभावकारी र जीवनोपयोगी ढंगले प्रस्तुत गरेको बताए। प्रेरणामूलक साहित्यले व्यक्तिको सोच, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्‍याउने उनको भनाइ थियो। कार्यक्रमको सहजीकरण गर्दै डा. शशी थापाले पुस्तक केवल ज्ञानको संग्रह नभई जीवन परिवर्तन गर्ने प्रेरणाको स्रोत भएको बताइन्। साहित्य, अनुभव र व्यवहारिक जीवनका सिकाइलाई समेटेर तयार गरिएको यस कृतिले पाठकलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

यस अवसरमा पुस्तककी लेखिका शोभा अधिकारीले ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ केवल पुस्तक नभई जीवनलाई सकारात्मक सोच, आत्मविश्वास र सफलताको मार्गतर्फ डोर्‍याउने मार्गदर्शक भएको बताइन्। उनले पुस्तक आफ्नो अनुभव, अध्ययन, साधना, चिन्तन र जीवनका विविध भोगाइबाट जन्मिएको उल्लेख गर्दै यसले मानिसलाई आफूलाई चिन्न, क्षमता पहिचान गर्न, आत्मविश्वास बढाउन, सही निर्णय लिन र जीवनलाई सार्थक बनाउन प्रेरित गर्ने बताइन्।

उनले मानिसहरू चन्द्रमासम्म पुग्न सफल भए पनि धेरै मानिस आफ्नै मनभित्रको सम्भावना चिन्न नसकेर निराशा र अन्योलसँग संघर्ष गरिरहेको उल्लेख गरिन्। “मनले म सक्छु भन्ने निर्णय गर्‍यो भने सारा ब्रह्माण्ड नै त्यसको पक्षमा काम गर्न थाल्छ,” उनले भनिन्, “यी २७ स्वर्णिम सूत्रहरू त्यही आत्मविश्वास जगाउन लेखिएका हुन्।”अधिकारीले सफलता भाग्यले दिने उपहार नभई सकारात्मक सोच, संकल्प, अनुशासन, निरन्तर प्रयास र परिश्रमबाट प्राप्त हुने परिणाम भएको उल्लेख गरिन् ।

एमबीएस तथा समाजशास्त्र एवं मानवशास्त्रमा एमए अध्ययन पूरा गरेकी अधिकारी प्रशिक्षण, लेखन तथा प्राध्यापन क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। साहित्य, समाजसेवा र राजनीतिक विषयमा कलम चलाउँदै आएकी उनका सात सयभन्दा बढी लेख तथा रचनाहरू विभिन्न पत्रपत्रिका, पुस्तक तथा अनलाइन माध्यममा प्रकाशित भइसकेका छन्। उनका प्रकाशित कृतिमध्ये ‘आमाको आँखा’ लघुकथा सङ्ग्रह छ भने ‘मुटुको मसी’ उपन्यास प्रकाशोन्मुख अवस्थामा रहेको छ।

समारोहमा उपस्थित अतिथिहरूले स ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ पुस्तकले व्यक्तित्व विकास, आत्मबल अभिवृद्धि तथा समाजमा सकारात्मक चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। साहित्यिक, बौद्धिक तथा प्रेरणादायी वातावरणमा सम्पन्न कार्यक्रमले सकारात्मक सोच र सफल जीवन निर्माणका विषयमा सार्थक सन्देश प्रवाह गरेको सहभागीहरूले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button